‘हँसिला अनुहारमा हात हल्लाउँदै आउँनुहुन्छ जस्तो लाग्छ !’
हिरा शर्मा संंघर्ष
‘काँधमा थमथमाउँदै आउने, आदरभावले नमस्कार गर्दै सञ्चै हुनुहुन्छ भन्दै हाँस्दै आउने म्याग्दी जिल्लाका एकल महिलाकी एक्ली अभिभावलाई गुमाएको आज तीन दिनभयो । आजको दिन हामी समाजमा एकल महिलाको परिचय बोकेर हिडिरहेकाहरूले कल्पना पनि गरेका थिएनौं । बिरामी भएर अस्पतालको शैयामा बसिरहेकी म जस्ता धेरै एकल महिलाले आज सामाजिक सञ्जालमा झुण्डिएको त्यो मुस्कुराइरहेको तस्वीरमा भाबपूर्ण श्रद्धाञ्जली लेख्न पनि सकिरहेको छैन ।
अन्त्येष्टीका दिन सामाजिक सञ्जालमा उर्लिएको हजारौं जनसागरमा आँखामा टिलपिल आँसु बनाउँदै कोही सुक्सुकाए। पुष्प गुच्छा लिएर श्रद्धाञ्जली अर्पण गर्दा भक्कानिएका दृष्यले यो लेख्न पनि सकिरहेको छैन । म्याग्दी जिल्लामा श्रीमान गुमाएपछि, अविवाहित एकल महिलाले खुलेर समाजका गतिविधिमा सक्रिय हुन सक्ने अवस्था थिएन् ।
कलिलै उमेरमा जीवन साथी गुमाउनुको पीडासँगै सन्तानको पालनपोषण, पढाइ र संघर्ष गर्दा समाजले हेलाँ गर्ने,राज्यका निकायले एकल महिलालाई दोस्रो दर्जाको नागरिकसरह हेर्छ, खुलेर हाँस्न र पीडा हुँदा रुने ठाउँसमेत नभएको अवस्थामा एकल महिलाहरूलाई एकजुट बनाएर क्षमता विकास, विभिन्न किसिमका तालिम सञ्चालन सहित एकल महिलाका ब्यक्तिगत समस्या समाधानका लागि स्वर्गीय बिमला गौचनको अध्यक्षतामा एकल महिला तथा बालबालिका सशक्तीकरण केन्द्र बेनी म्याग्दी गठन भएको थियो ।
राज्यका निकायहरुमा गएर आफ्नो गुनासो र समस्या सुनाउन नसक्ने एकल महिलालाई संस्थापक अध्यक्षमा आफ्ना समस्या निर्धक्क राख्न सक्ने अवस्था बन्यो ।
एकल महिलाले एक्लै संघर्ष गर्दा समाजको अपहेलनासँग लड्नु परिरहेको अवस्थामा हामी सबैको अभिभावक बन्नुभएको थियो । एकल महिलालाई आयआर्जनसँगै नेतृत्व विकासमा समेत सक्रिय बनाउन उहाँले धेरै कार्यक्रमहरु गर्नुभयो ।
एकल महिलाले लगाएको, खाएको, हिँडडुल गरेको, अरुसँग बोलेको हिसाबकिताब राख्ने जिम्मा समाजले पाएजस्तै व्यवहारको सामना गरिरहनुपरेको अवस्थामा एकल महिलालाई समाजमा शिर उच्च बनाएर हिँड्न सक्ने गरी संस्था स्थापना गनुर््भयो।
उहाँकै पहलमा अति समस्यामा परेका एकल महिलाका छोराछोरीलाई शिक्षादिक्षा, लत्ताकपडा सहित विभिन्न सहयोग गरिएको थियो भने अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर विस्थापित भएका धवलागिरी गाउँपालिका विस्थापितलाई एकल महिला केन्द्रिय कार्यालयले करिब २० लाख बराबरको लत्ताकपडा, स्वास्थ्य लगायतका साम्रागी सहयोग समेत हस्तान्तरण भएको थियो । हामीले संस्था स्थापनापछिको पाना पल्टाउँदा उहाँबाट भएका परोपकारी कामको बयान र शब्दमा लेख्न सकिदैन ।
एकल महिलालाई नजिकबाट चिन्ने समाजका पात्रलाई पीडा थाहा हुन्छ भन्ने पुष्टी गर्ने धेरै कार्यक्रमहरू मार्फत एकल महिलालाई उर्जा थपिरहनुभएको थियो ।
एकल महिला सुरक्षा कोष कार्यान्वयनको माग गदैं सरकारसँग हारगुहार गर्नुपर्ने अवस्थामा प्रशासकको दैलोमै पुगेर दबाबमुलक कार्यक्रम तथा योजनाहरु समेत ल्याउने,महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले २०७० सालमा एकल महिला सशक्तीकरण, क्षमता अभिवृद्धि र आर्थिक हिसाबले विपन्न एकल महिलाको हकहित एवं प्रवद्र्धन गर्न एकल महिला सुरक्षा कोष स्थापना गरेपनि उक्त कोष परिचालन नभएको भन्दै राज्यका निकाय नै एकल महिलाविरुद्ध रहेको आन्दोलनमा जिल्ला, प्रदेश देखि केन्द्रसम्म पुगेर दबाब दिनुभएको थियो ।
म्याग्दीमा आर्थिक रुपमा कमजोर एकल महिलाले पेटभरि खाने र सन्तानलाई पालनपोषणसहितका कार्यमा सास्ती खेप्नुपरेको अवस्थामा स्थानीय तहमार्फत एकल महिला समाजका लागि बलियो शक्ति भएकाले पहुँच अभिवृद्धिका लागि सीपमूलक तालिम, जीविकोपार्जन अभिवृद्धिका कार्यक्रमलाई प्राथमिकताका लागि आफ्ना नियमित कार्यक्रम समेत छोडेर लाग्नुहुन्थ्यो ।
संघर्षशील अनि पीडादायी जीवनका पाटा सहँदै आएका महिलालाई समाजमा हरेक क्षेत्रबाट साथ र सहयोग दिएर सधैँ हाँस्ने वातावरण बनाउन एकल महिलाकी एक्ली अभिभावक बन्नुभएकी स्वर्गीय गौचनले एकल महिलाप्रति समाजमा विद्यमान कूरीति अन्त्य गदैं विभेदपूर्ण व्यवहार, संस्कार जरैदेखि उन्मूलन गर्ने, धार्मिक, साँस्कृतिक, आर्थिक, सामाजिक, राजनीतिक दृष्टिले पीडित बनिरहेको अवस्था अन्त्य गर्न कठोर बन्नुपर्ने हामीलाई सिकाएर महाप्रस्थान गर्नुभएको छ । बि.स २०७० सालमा संस्था स्थापना गरी करिब ६ बर्ष नेतृत्व गर्नुभयो ।
संविधानले व्यवस्था गरेका हक र अधिकार मागेर होइन खोसेरै लिनुपर्ने स्वर्गीय बिमला दिदीको भनाईलाई नै अब हामीले ब्यवहारमा उर्तानुपर्छ ।
आगामी २५ नोभेम्बरदेखि ८ डिसेम्बरसम्ममहिला विरूद्ध हुने हिंसा निर्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा संस्थापक अध्यक्षले हामीलाई सिकाउनुभएका कार्यहरुलाई सक्ने र देखिने गरी प्रस्तुत गर्नुपर्छ । अलबिदा बिमला दिदी, हामी तपाईलाई सधै सम्झिरहनेछौ ।
लेखक एकल महिला तथा बालबालिका सशक्तीकरण केन्द्र बेनी म्याग्दीको सचिव हुनुहुन्छ ।