म्याग्दीको मंगला गाउँपालिका-२,तल्ला डडुवाकी २३ वर्षिय पूर्णा बिकले म्याग्दीका लागुऔषध प्रयोगकर्ता र उनीहरूलाई उपलब्ध गराउन घरमा लगेर लागुऔषध भण्डार गर्ने गर्दथिन् ।

उमेरले २० नाघेकी पूर्णालाई लागुऔषध नियन्त्रण ब्युरोको निगरानीमा पक्राउ गरी म्याग्दी प्रहरीले घरमा पुगेर खानतलासी गर्दा ठूलो मात्रामा लागुऔषध बरामद गरेको हो ।गण्डकी प्रदेशबाट आएको सूचनाको आधारमा म्याग्दी प्रहरीको टोली पूर्णाको घरभित्र प्रवेश गरी बरामद गरेको लागुऔषधको प्रारम्भीक अनुसन्धानमा डिलर नै भएको अनुमान गरेको छ ।

जिल्ला बाहिरबाट खरिद गरी घरमा लैजाने र प्रयोगकर्ताको चाहना अनुसार बिक्री गर्ने गरेको सूचना समेत प्रहरीले पाएको छ । पछिल्लो समय लागुऔषधका प्रयोगकर्ता बढ्दै गएको अवस्थामा किशोरी विकलाई पक्राउ गर्नुलाई प्रहरीले सफलता मानेको छ ।

घरभित्र बागवान सुपर मसिना चामल लेखेको सेतो हरियो चामलको खाली बोरामा कालो प्लास्ट्रिक भित्र लुकाई छिपाई राखेको अबस्थामा डाइजेपाम तीन सय ९८ एम्पुल, फेनेर्गन तीन सय ९७ एम्पुल र बुप्रेनोर्फिन तीन सय ९८ गरी कुल एक हजार एक सय ९३ थान भेटिएको छ ।

लागुऔषधका प्रयोगकर्ताले डाइजेपाम, फेनारागन, र बुप्रेनोर्फिनको प्रयोग गरी डोज बनाएर सिरिन्जको माध्यमबाट शरीरका विभिन्न भागबाट नशासम्म पुर्याउने गर्दछन् । ‘गाउँमा राखेर बिक्री गर्ने गरेजस्तो देखिन्छ, हामीले अनुसन्धान गरिरहेका छौ’जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक(इन्सपेक्टर) सागर पौडेलले भने ।

विगत डेढ दशक यता चरेस, गाँजाहरु ग्रामिण क्षेत्रमा बरामद गरेपनि लागुऔषध सदरमुकाम बेनीबजार आसपासको क्षेत्रबाट नियन्त्रणमा लिने गरिएको थियो। उनलाई पोखराबाट सुराकीको आधारमा पक्राउ गरिएको अनुमान गरिएको छ ।

तल्लो डडुवाका स्थानीयले बेनीअनलाइनलाई दिएको जानकारी अनुसार बेलाबेलामा गाउँमा अपरिचित अनुहार समेत देखिने गर्दथे । अभियुक्त बिकबाट खुद्रा खरिद गरी बिक्री गर्ने तथा प्रयोगकर्ताको जालोसम्म पुग्न प्रहरीलाई सहज हुने स्थानीयको भनाई छ । गाउँमा गाँजाको प्रयोगकर्ताबाट समेत स्थानीय हैरानीमा छन् ।

बिहिबार नै लागुऔषधको अप्रेसनमा पुगेको प्रहरीको सवारीसाधन एक लागुपदार्थको सेवनकर्ताले चोरी गरेर लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पछिल्लो समय म्याग्दीका ग्रामिण क्षेत्रमा समेत लागुऔषधका प्रयोगकर्ता बढ्दै गएको अवस्थामा गाउँमै ठूलो मात्रामा बरामद हुदाँ प्रहरी समेत झस्किएको छ । लागुऔषध सेवन गर्ने व्यक्तिहरु नै अहिले ब्यापारमा संलग्नता हुने गरेको समेत अनुसन्धानमा खटिएको टोलीको भनाई छ ।

तल्लो डडुवामा भेटिएको लागुऔषध सीमावर्ती जिल्लाबाट ल्याइएको हुनसक्ने अनुमान गरिएको छ । लागुऔषध भारतीय बजारबाटजति टाढा पु¥याउन सकियो मूल्य बढ्दै जान्छ । म्याग्दीमा खैरो हिरोइनको प्रयोगकर्ता समेत रहेको प्रहरीको अनुमान छ । यसअगाडी खैरो हिरोइन बिक्री गर्दागदैं प्रहरीले एकजनालाई पक्राउ गरेको थियो ।

प्रहरीले यसपटक भरियामार्फत बिक्रेताको जालो तोड्ने गरी थप सक्रियता देखाएको छ । अभियुक्त विकलाई लागु लागुऔषध सम्बन्धी कसुरमा जिल्ला अदालतबाट लागुऔषध मद्दामा म्याद लिएर थप अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply