हिमालमा हिमस्खलन हुने क्रम बढ्दै जाने तर समयमा हिमपात नहुने र भए पनि अत्यन्त कम मात्रामा हुने गरेकोले केही वर्ष अघिसम्म चाँदी जस्तै टल्कने सेता हिमालहरु काला पहाडमा परिणत हुँदै जान थालेका छन् ।
म्याग्दीको मुदीमा रहेको संसारको सातौँ अग्लो धौलागिरि हिमालमा हिउँको मात्रा घट्दै गएको छ ।आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल पहिले बाह्रै महिना पूरै हिउँले ढाकिने गरेको भएपनि विगत केही वर्षयता हिमालको तल्लो भाग हिउँविहीन देखिने गरेको मुदीका चक्रबहादुर तिलिजा पुनले जानकारी दिनुभयो ।
“पहिले धौलागिरि हिम शृङ्खला पूरै हिउँले ढाकिएको हुन्थ्यो, पछिल्ला केही वर्षयता हिमालका तल्लो भाग काला पहाडजस्ता देखिन थालेको छ, जाडो याममा समेत हिमालहरु नाङ्गिएको देखिन्छ,” तिलिजाले भन्नुभयो ।
“हिउँदेयाममा समेत हिउँ नपरेपछि डाँडाकाँडा रूखा र सुक्खा देखिनथालेका छन् भने हिमालहरू कालापत्थरमा परिणत भएका छन् । हिमालको शोभा घटेको छ । पहिले चाँदीझैं टल्कने हिमाल अहिले उराठलाग्दा देखिनथालेका छन्” वन र वातावरणको क्षेत्रमा खोज र अनुसन्धान गर्दै आउनुभएका डिभिजन वन कार्यालय म्याग्दीका वन अधिकृत चन्द्रमणी सापकोटाले बताउनुभयो ।
असोज कात्तिकमा अत्यधिक वर्षा हुनु, मंसिर, पुस र माघ महिनामा पनि कम हिउँ पर्नु, विगतको जस्तो पुस, माघमा हिउँ नपर्नु, पानी नपर्नु, जलवायु परिवर्तनको प्रभाव मान्न सकिने वन अधिकृत सापकोटाको भनाइ छ ।
अस्वाभाविक रुपमा तामक्रम बढ्ने भएका कारण हिउँ पग्लिने क्रम बढेको अनुभव सुनाउनुभयो । स्थानीयवासीका अनुसार पछिल्लो समय जाडो समयमा समेत पर्याप्त हिउँ नपर्ने समस्या देखिएको छ ।
पहिले मंसिर,पुस महिनामा भारी हिमपात हुने भएपनि पछिल्लो समय फागुनतिर हिउँ पर्न थालेको छ । हिउँ पर्याप्त नपर्ने र हिमालमा भएको हिउँसमेत पग्लिएर जाँदा हिमालमा हिउँले ढाकिएका भू-भाग काला पहाडमा परिणत हुने खतरा बढेको पर्यटन व्यवसायी टेक सिउथानीले बताउनुभयो ।
धौलागिरि हिमालको आधार शिविर जाने पदमार्गअन्तर्गत जापानी आधार शिविरदेखि नै सुरु हुने वर्षाैंदेखि हिउँ जमेर बनेको हिमतालसमेत बर्सेनि पग्लिएर जाने क्रम बढेसँगै यस्ता तालको सतहसमेत घट्दै गएको पाइएको छ । विगत ६/७ वर्षकै अवधिमा त्यस क्षेत्रमा हिउँ जमेर बनेको हिमताल अत्यधिक पग्लिएर बग्ने क्रमले करिब पाँच मिटरभन्दा बढी जमिनको सतह तल झरेको पाइएको पर्यटन व्यवसायी सिउथानीले जानकारी दिनुभयो ।
१७ वर्षको उमेरबाट राउण्ड अन्नपूर्ण र धौलागिरि क्षेत्रमा ट्रेकिङ गाइड गर्दै आउनुभएका सोलुखुम्बुकाहितमान दोर्जेले हिमालमा हिउँ नभएका कारण हिमालहरूको सौन्दर्यता हराउँदै गएको बताउनुभयो । जलवायु परिवर्तनको असरले हिमालहरूको प्राकृतिक सौन्दर्यता गुम्ने चिन्ता हुन थालेको उहाँको भनाइ छ । हिमालैहिमालको मुलुकमा हिमपातमा व्यापक बदलाव हुनु पर्यटनका लागि दुर्भाग्यको कुरा भएको उहाँको भनाइ छ । १०-१२ वर्ष पहिलाजस्तो बाक्लो हिउँ पर्न छाडेको उहाँले सुनाउनुभयो ।
बाह्रै महिना सेताम्य हुने हिमालमा समेत हिउँ छैन । धौलागिरि, अन्नपूर्ण, निलगिरि, गुर्जा, चुरेनलगाएतका हिमालको बिचभागमा समेत हिउँ देखिदैन । केही दिन अघिमात्र अन्नपूर्ण हिमालको तल्लो आधारशिविर पुगेर फर्किनुभएका भक्तबहादुर सिग्देलले भन्नुभयो “भर्खरै हामी नर्थ अन्नपूर्णको पहिलो आधारशिविरमा पुगेर फकियौं । आसपासका हिमालमा समेत राम्रोसँग हिउँ देख्न पाएनौं । पहिले जस्तो हिमालमा हिउँ छैन, हिमाल काला देखिन्छन् ।”
हिमालमा हिमस्खन बढ्ने र हिउँ पर्ने क्रम घट्ने गरेको कारण हिमालहरु हिउँ बिहीन बन्न थालेका मात्र होइन हिमाली खेतीबाली उत्पादनमा कमी आउनाका साथै हिमालको फेदीमा पाइने यार्सागुम्बासमेत पाइन छाडेको हिमाली भेगका वासिन्दाहरु बताउँछन् ।