कास्कीको अन्नपूर्ण गाउँपालिका-६,लुम्लेका यूवा नविन देवकोटाले कुस्मा–पोखरा सडकमा दैनिक १ सय कपभन्दा बढी कफी बेच्नुहुन्छ । बैदेशिक रोजगारीको सिलसिलामा कतारमा करिब साढे दुई बर्ष विताएर फर्किनुभएका यूवा देवकोटाको सडक छेउमा ‘लुम्ले कफी स्टेट’ मा विहानै देखि साँझसम्म भिडभाड हुन्छ ।

आफ्नै गार्उँमा उत्पादन गरेको जैविक कफीको बजारीकरणमा सक्रिय देवकाटाले ५ बर्षदेखि सडक छेउमा रहेको आफ्नै जग्गामा सानो कन्टेनरमा क्याफे सञ्चालन गरेर ग्राहकलाई कपीको स्वादले आर्कषित गरिरहनुभएको छ ।‘गाउँको कफीले बजार पाएको छ, स्वादले ग्राहक तानेको छ’ यूवा देवकोटाले बेनीअनलाइनलाई भन्नुभयो ।

दैनिकजसो मध्यपहाडी लोकमार्ग हुँदै गन्तव्यतर्फको यात्रामा निस्किएका कपीका पारखीलाई अहिले लुम्लेमा देवकोटाको ‘लुम्ले कफी स्टेट’ले कफी पिउनलाई रोक्ने गरेको छ ।

२९ वर्षीय युवा देवकोटाले कतारमा सिकेको सिपका साथै यूएई लगायतका विभिन्न स्थानमा पुगेर लिएको अन्तराष्ट्रियस्तरको तालिमको अनुभवलाई आफ्नै क्याफेमा प्रयोग गरिरहुनभएको छ ।

‘अहिले गाउँमा कफी खेती गर्नेको संख्या ह्वात्तै बढेको छ, मैले बिदेशमा सिप सिके, गाउँमै आएर प्रयोग गरे’ यूवा देवकोटाले भन्नुभयो।

सडक छेउमा एकान्त वातावरणमा मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा घुम्न आउने पर्यटक बाहेक यस क्षेत्रमा स्थानीयहरु नै नियमित नियमित ग्राहक रहेको देबकोटाको भनाई छ । विदेश पर्यटकले समेत यहाँ स्वाद लिएर स्थानीय जैविक कफी लैजाने गरेकोमा देवकोटा मख्ख छन् ।

रोजगारीको क्रममा ठूला क्याफेमा महँगो मूल्य खर्चेर कफी पिउने पारखीको भीड देखेपछि आफ्नै बाँझो जग्गा जमिनको सदुपयोग गर्ने गरी गाउँ फर्किने सुनाउँदा उतै काम गर्न अनुरोध गरेको स्मरण गदैं अहिले कतारमै रोक्न खोज्नेहरू नै खुसी रहेको बताउनुभयो।

यूवा देवकोटाले बरिस्टामा कफी बनाउने तालिम लिएपछि अन्तर्राष्ट्रियस्तरमै कफी कल्चरका बारेमा समेत अध्ययन गरेको बताउनुभयो । नर्सरीमा उत्पादन भएका बिरुवादेखि प्रशोधनसम्म देवकोटालाई आमा दुर्गादेवी देवकोटाले सघाइरहनुभएको छ ।

कफीको बोट र धुलो पनि प्याकेजिङ गरेर बेच्ने भएकाले त्यसको बजारीकरण र ब्राण्डिङमा परिवारको सहयोगले समेत देवकोटालाई हौसला मिलेको छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेले तत्कालिन समयमा सुरु गरेको कफी खेतीलाई यूवा देवकोटाले बाल्यकालदेखि नै निकै चासोपूर्वक लिने गर्नुभएको थियो ।

अहिले देवकोटाले करिब १७ रोपनीमा जग्गामा आफ्नै बीउ नर्सरीसहित आफ्नो कफी आउटलेटमा लगानीसँगै स्थानीयलाई समेत प्रोत्साहन गर्नुभएको छ । उहाँले कफीको महत्वबारे र गुणस्तरका बारेमा तालिम दिएका यूवाहरुले अहिले धमाधम ब्यवसाय समेत सञ्चालन गरिरहेका छन् ।

राजमार्गमा नियमित यात्रा गर्दा कपीको स्वाद लिने म्याग्दीकी उद्यमी प्रमिला जोशी श्रेष्ठले बैदेशिक रोजगारीबाट फर्किएपछि आफ्नै गाउँमा उत्पादन गरेको कफीको बिक्रीमा सक्रिय देवकोटा यूवाहरूका लागि प्रेरणाको स्रोत भएको बताउनुभयो ।

नबिन जस्ता यूवा उद्यमीलाई राज्यका निकायबाट समेत प्रोत्साहनको आवश्यकता रहेको उद्यमी जोशी श्रेष्ठको भनाई छ । गुणस्तरीय कफीको बजारसँगै यूवाहरुलाई थोरै लगानीमा समेत स्वदेशमै ब्यापार गर्न सकिने भएकाले कफी खेती र ब्यवसायलाई प्रोत्साहन गर्नुपर्नेमा यूवा उद्यमीहरुको जोड छ ।

Leave a Reply