दशैं उद्योग दिवसको अवसरमा पर्यटन तथा घरेलु उद्योग कार्यालय म्याग्दीबाट तीन उद्यमी सम्मानित भएका छन् । सम्मानित हुनेमा मेनुका सिलाई कटाई तथा प्रशिक्षण केन्द्रकी मेककुमारी पुन, बेदना सु सेन्टरका संचालक सुकलाल किसान र शर्मा कृषि तथा पशुपंक्षी फर्मका संचालक कृष्णप्रसाद शर्मा हुनुहुन्छ ।
सम्मातीन तीनजना उद्यमीलाई पूर्व भौतिक पूर्वाधार मन्त्री एवम् गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली, जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका मेयर सुरत केसी र प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले दोसल्ला ओडाएर कदरपत्रले सम्मान गर्नुभएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि जुग्जालीले म्याग्दी जिल्लामा उत्पादन हुने क्षेत्रको पहिचान भएपनि उत्पादन गरी बजारीकरणतर्फ ध्यान नपुगेको बताउनुभयो। ‘छोटो समयमै धेरै प्रतिफल खोज्ने चलन छ, एउटै ब्यवसायमा टिकेका सफल ब्यवसायीहरू पनि हुनुहुन्छ’ जुग्जालीले भन्नुभयो ।
बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले उद्योग व्यवसाय सञ्चालनमा नीतिगत जटिलता र समस्याहरूसँगै लगानी अनुसार उद्यमी उत्पादन नहुदाँ लगानी नै खेर गएको बताउनुभएको थियो ।
संघ, प्रदेश र स्थानीय तहले उद्यमी उत्पादनका लागि विभिन्न तालिम सहित उपकरणहरू सहयोग गरेपनि बाहिरी क्षेत्रबाट आउने उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेको र प्रतिफल हुदाँ समेत ब्यवसाय नै बन्द गरी बैदेशिक रोजगारीमा जाने प्रबृत्ति समेत समस्याको रुपमा देखिएको बताइएको थियो ।
सम्मान कार्यक्रमको अध्यक्षता जिसस प्रमुख थापा, स्वागत पर्यटन तथा घरेलु उद्योग कार्यालयका प्रमुख पोषराज शर्मा र सञ्चालन कर्मचारी सन्तोष ढुंगानाले गर्नुभएको थियो ।