‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा विरुद्धको एक्यबद्धता’ भन्ने मूल नारासहित म्याग्दीमा पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउन सुरु भएको छ ।
बेनी नगरपालिका, मिलन म्याग्दी र समावेशी मञ्च नेपालको संयुक्त आयोजना तथा सामाजिक विकास कार्यालय म्याग्दीको समन्वयमा १६ दिने अभियानअन्तर्गत आज पहिलो दिन असल अभ्यास साझा गर्ने कार्यक्रम गरिएको हो ।
कार्यक्रममा महिला अधिकारका लागि राष्ट्रिय मञ्च म्याग्दीको सचिवालय संयोजक एवं सामाजिक अभियन्ता जमुना आचार्यले आफूले विगतदेखि अहिलेसम्म भोगेका दुःख, पीडा र गरेका सामाजिक कार्यहरुको असल अभ्याससहितको अनुभव सुनाउनुभएको थियो ।
यसैगरी गोमा फाउण्डेशन प्रालि पोखराका संस्थापक अध्यक्ष गोमा पराजुलीले पनि आफ्नो जीवनमा विगतदेखि वर्तमानसम्म घटेका घटनाहरुसहित आफूले गरेका सामाजिक कार्यहरुको साथमा अनुभव सुनाउँदै सहभागीहरुलाई मार्गनिर्देशन दिनुभयो ।
सोही कार्यक्रममा बोल्दै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको संस्था समावेशी मञ्च नेपालका अध्यक्ष डिलु बुदुजा (बद्री पुन)ले राज्यबाट पाउनुपर्ने संविधानप्रदत्त हक तथा अधिकारको उपभोग गर्न नपाएको गुनासो गर्नुभयो ।
उहाँले आफूहरु यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक सूचीमा परेकै कारणले विगतमा आफूले घर, परिवार, समाज र विद्यालयबाट थुप्रै शारिरीक तथा मानसिक यातना पाएको पीडा सुनाउनुभयो । राज्यको हरेक क्षेत्रमा आफूहरु पछाडि परेको र अरु नागरिकसरह हक, अधिकार नपाएको उहाँको भनाइ छ ।
राज्यबाट पाउनुपर्ने सेवासुविधामध्ये नागरिकता र समलिङ्गी विवाहको अधिकार मात्रै पाएको र संविधानमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक, अधिकारहरु उल्लेख भए पनि अहिलेसम्म ऐन, कानुन नबन्दा समस्या झेल्नुपरेको अध्यक्ष बुदुजाले बताउनुभयो ।
संविधानमा हक, अधिकारको रुपमा व्यवस्था भएर पनि त्यो कार्यान्वयन हुन नसक्दा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय सधैँ उपेक्षामा पर्ने गरेको उनीहरु बताउँछन् । देशमा सामाजिक सुरक्षा नभएकाले राज्यबाट अन्य नागरिकसरह आफूहरुले सबैखाले हक, अधिकार पाउनुपर्ने अध्यक्ष बुदुजाले माग गर्नुभयो ।
कार्यक्रमको समापन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले लैङ्गिक हिंसा अन्त्य गर्नको लागि व्यक्ति, घर, परिवार तथा समाज मिलेर अगाडि बढ्नुपर्ने हुँदा लैङ्गिक हिंसा विरुद्धको अभियानले समाजको परिवर्तन र रुपान्तरणमा सहयोग पु¥याउने बताउनुभयो ।
उहाँले अमेरिका जस्तो विश्वको शक्तिशाली मुलुकमा समेत महिलाले राष्ट्रको नेतृत्व गर्छु भन्दा अवसर नपाएको उदाहरण प्रस्तुत गर्दै ठूलो तथा धनी देश, शिक्षा र चेतना भएर मात्रै पनि केही नहुने भएकाले सकारात्मक सोचको आवश्यकता औंल्याउनुभयो ।
जिल्ला समन्वय समिति म्याग्दीका उपप्रमुख डिलकुमारी खत्रीले नेपालको संविधानले हरेक क्षेत्रमा महिलाको सहभागिता अनिवार्य गरेको भए पनि यसको प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले लैङ्गिक हिंसा विरुद्धको अभियानमा सबैे एकजुट भएर लाग्नुपर्ने बताउँदै व्यक्ति, घर, परिवारबाटै हिंसा न्युनीकरणमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा समलिङ्गी विवाह गरेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबाट बिनिमा अधिकारी र कृष्ण चौधरीले आफ्ना अनुभव सुनाउनुभएको थियो । कार्यक्रम बेनी नगरपालिकाको कार्यपालिका सदस्य सृजना श्रेष्ठको अध्यक्षता, योजना अधिकृत अर्जुनप्रसाद सुवेदीको स्वागत, महिला विकास निरीक्षक डमसरा पुन र मिलन म्याग्दीका उपाध्यक्ष तिलकुमारी रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।
जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्त, सामाजिक विकास कार्यालय प्रमुख रमेश थापाको विशेष उपस्थिति रहेको कार्यक्रममा जिल्लास्थित विभिन्न कार्यालय र संघसंस्थाबाट सहभागिता जनाएका थिए । औपचारिक कार्यक्रम सुरु हुनुपूर्व प्लेकार्डसहितको ¥यालीले सदरमुकाम बेनीबजारको परिक्रमा गरेको थियो ।