पाक्ने बेलाका सुन्तलामा औंसे किराको प्रकोपले सुन्तला झर्न थालेपछि म्याग्दीका किसानहरु चिन्तित बनेका छन् ।

औंसे किराको प्रकोपका कारण पाक्नेबेलाको सुन्तला धमाधम बोटबाट झर्न थालेपछि किसान चिन्तित बनेका हुन् ।सुन्तला र केरामा रोग र किराको प्रकोप देखिएको किसानले बताएका छन् । बजार पठाउने बेला सुन्तलामा औँसा कीरा र केरामा गबारो रोग भेटिएको म्याग्दीको बेनी नगरपालिका ४ वास्कुनाका कृषक तिलक गुरुङले बताउनुभयो ।

कृषकहरुका अनुसार औंसे कीरा र स्केल रोगका कारण सुन्तलाका दाना कुहिएर बोटबाट झर्न थालेका गुनासो आउन थालेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

कृषि ज्ञान केन्द्र म्याग्दीका सूचना अधिकारी गंगा लामिछानेले सुन्तला बगानमा गएर नमूना संकलन गरेर प्रदेशमा पठाइएको भए पनि जानकारी आइ नसकेको बताउनुभयो । कृषकहरुले सुन्तलामा औंसे किराको प्रकोप भएको जानकारी दिए पछि सुन्तला बगैंचामा नै गएर अनुसन्धान गर्दा कारण पत्ता नलागेपछि ल्याब परीक्षणका लागि प्रदेशमा नमूना पठाइएको जानकारी दिनुभयो ।

म्याग्दीको प्रमुख निकासीयोग्य फलफूल सुन्तला हो । दानाको बोक्रामा थोप्ला–थोप्ला दाग लागेर स्वरुप बिगार्ने ‘स्केल’ रोग समेत देखिएको कृषक शान्त खत्रीले बताउनुभयो ।

म्याग्दीमा सात सय छ हेक्टरमा सुन्तला जात फलफूलको खेती भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । गत वर्ष तीन सय ५५ हेक्टरमा लगाइएको बोटबाट दुई हजार एक सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्क रहेको छ ।
बोटमा लटरम्मे फलेका सुन्तलामा चाइनिज सिडरस फुड फ्लाइ (औँसा) नामक किराको प्रकोप देखिएको र सोही रोगका कारण दाना पोटिला नहुँदा भनेजति मूल्य नपाएको किसानहरुको गुनासो छ ।

वासकुनाका साथै उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, हिस्तानको दोसल्ले, मङ्गला–१, खानीगाउँ र मङ्गला–३, बराङ्जाको घोर्लेनीलगायत क्षेत्रमा लगाइएको सुन्तलामा औँसा किरा लागेको किसानहरुले बताएका छन् ।

त्यसैगरी गएको वर्ष पनि बेनी नगरपालिका–३, भकिम्लीको राखु, मरेक तथा ४ नम्बर वडा सिङ्गाको बास्कुना, सुर्केमेला, थामडाँडासहित मङ्गला–५, अर्मन र मालिका–७, बिम गाउँमा लगाइएको सुन्तला खेतीमा औँसा किरा लागेको थियो ।

गएको वर्ष औँसा किराको प्रकोप देखिएपछि कृषि ज्ञान केन्द्र म्याग्दीमार्फत प्रोटिन बेस (खाद्यपासो) थापेर औँसा नियन्त्रण गरिएको क्षेत्रमा प्रकोप घट्दो क्रममा रहेको र अन्य ठाउँमा बढ्दै गएको छ ।

बेनी नगरपालिका ४ बास्कुनाका कृषक तिलक गुरुङले गाउँका ९० घरधुरीका २ सय भन्दा बढी किसानहरुले व्यवसायिक रुपमा सुन्तला खेती गरेको बताउनुभयो । उहाँका अनुसार बास्कुनादेखि बरंजा क्षेत्रमा मात्रै २० हजार सुन्तलाका बोट रहेका छन् । किसानहरुले बोटबाट नै प्रतिकिलो ७० मा सुन्तला विक्रि गरिरहेको उहाँले जानकारी दिनुभयो ।

“बोटमा सुन्तला त राम्रैसंग फलेका छन् तर औंसो किराका कारण दाना पनि त्यति पोटिला छैनन् र झर्ने समस्या पनि देखिएको छ । त्यसैले जति आम्दानी हुनुपथ्र्यो त्यति हुदैन की भन्ने चिन्ता थपिएको छ”उहाँले भन्नुभयो । त्यसैगरी यहाँका कृषकहरुले गरेको व्यवसायिक केरा खेतीमा पुन: गवाँरो रोगको प्रकोप देखिए पछि कृषकहरु चिन्तित बनेका छन् ।

गत चैतदेखि मंसिरसम्मको अवधीमा तीन पटक गवाँरो रोग लागेपछि यहाँका किसानहरु चिन्तित भएका हुन् । पहिलो पटक गतवर्षको चैत र यस वर्षको साउनमा पनि केरामा गवाँरो रोग लागेर कोसा लाग्ने बेलाका केराका बोट सुकेका थिए ।

गत साउनमा पनि खपटे घुन र गवाँरो रोगले क्षति पु¥याएको केरा खेती तङ्ग्रिन नपाउँदै पुनःरोग फैलिए पछि यहाँ केरा खेती गरेका कृषकहरु चिन्तित बनेका बेनी नगरपालिका २ खबराका कृषक चन्द्रबहादुर कार्कीले बताउनुभयो । उहाँले लगाएका ४ सय केराका विरुवा मध्ये ४० भन्दा बढी गवाँरो रोगका कारण मरेका छन् ।

पश्चिम म्याग्दीको मंगला,मालिका,धौलागिरि गाउँपालिका र बेनी नगरपालिकाको वडा नं २ खबरा,बगरफाँट,वडा नं ४ सिंगा,थामडाँडा लगाएत जिल्लाका विभिन्न क्षेत्रमा गरिएको व्यवसायिक केराखेतीमा किरा र रोगको प्रकोप देखिएपछि किसानहरु मारमा परेका वेनी नगरपालिका २ बगरफाँटका कृषक दुर्गाबहादुर थापाले बताउनुभयो ।

Leave a Reply