* दाजुबहिनी पक्राउ परेपछि खुल्दै पोल
* गाउँसम्म छन् सिरिन्जका प्रयोगकर्ता
*बिक्रेता र प्रयोगकर्ताको आफ्नै भाषा
*मुख्य डिलरसम्म पुग्नै सक्दैनन् प्रहरी
* महिलाहरू भरिया र बिक्रेतासम्म
* छोराछोरी कुलतमा फसेको पत्तै पाउँदैनन् अभिभावक
मंगला गाउँपालिका-२,तल्ला डडुवाकी २३ वर्षिया पूर्णा बिक (खाती) लाई लागुऔषध नियन्त्रण ब्यूरो पोखराको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय म्याग्दीले गतसाता घरमा राखेको अवस्थामा ठूलो मात्रामा लागुऔषधसहित पक्राउ ग¥यो ।
लागू औषधको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा घरमा पुगेको प्रहरीको टोलीले खानतलासी गर्दा लुकाइछिपाइ राखेको अवस्थामा बागवान सुपर मसिना चामल लेखेको सेतो हरियो चामलको खाली बोरामा कालो प्लास्ट्रिक भित्र डाइजेपाम तीन सय ९८ एम्पुल, फेनेर्गन तीन सय ९७ एम्पुल र बुप्रेनोर्फिन तीन सय ९८ गरी कुल एक हजार एक सय ९३ थान बरामद गरेको थियो ।
प्रहरीको सूचनामा अभियुक्त पूर्णाले म्याग्दी जिल्लाका प्रयोगकर्ताहरूलाई उपलब्ध गराउन घरमा लगेर लागुऔषध भण्डार गर्ने गथिन् । घरभित्र प्रवेश गरी बरामद गरेको लागुऔषधको प्रारम्भीक अनुसन्धानमा डिलर नै भएको अनुमान प्रहरीले गरेको छ । छिटो र धेरै कमाउने लोभमा उनलाई अन्य ब्यक्तिले समेत लगानी गरेको आशंका गरिएको छ ।
अभियुक्त पूर्णा र पोखरामा नियन्त्रणमा लिइएका उनका दाईले जिल्ला बाहिरबाट खरिद गरी घरमा लैजाने र प्रयोगकर्ताको चाहना अनुसार बिक्री गर्ने गरेको सूचना समेत प्रहरीले पाएको छ । सदरमुकाम बेनीबजार आसपासका क्षेत्रबाट बिक्री गर्दा प्रहरीको निगरानीमा पर्ने र प्रयोगकर्ताको बार्गेनिङ,उधारोमा बिक्री गर्नुपर्ने भन्दै घरमै भण्डार गरेकी पूर्णालाई लागुऔषधका प्रयोगकर्ता बढ्दै गएको अवस्थामा पक्राउ गर्नुलाई म्याग्दी प्रहरीले सफलता मानेको छ।
भारतको सीमाक्षेत्रबाट ल्याएर पोखरा हुदैं गाउँको आफ्नै घर भण्डार गरी बेनी बजार तथा ग्रामिण क्षेत्रका प्रयोगकर्ताहरुका साथै छिमेकी जिल्ला मुस्ताङ, बागलुङ र पर्वतमा बिक्री गर्ने गरेको आशंका प्रहरीले गरेको छ ।
‘म्याग्दीको ग्रामिण क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भेटिएको यो पहिलो हो, बजारसँगै ग्रामिण क्षेत्रमा पनि प्रयोगकर्ता भएको अनुमान गरेका छौ’ प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले भने । उनले लागुऔषध कारोवारीका डिलर र प्रयोगकर्ताको सञ्जाल भत्काउने गरी अभियुक्तबाट सूचना लिइरहेको बताए ।
‘अब प्रहरीले कारोवारी पक्राउ गर्ने र सचेतना अभिवृद्धि गर्ने कार्यलाई थप प्रभावकारी बनाउछ’ प्रनाउ श्रेष्ठले भने ।म्याग्दीमा पछिल्लो एकदशक यता बढेको लागुऔषधमा प्रयोगकर्ता र विक्रेतालाई प्रहरीले पक्राउ गरे पनि यसको आयातमा संलग्न गिरोहसम्मको कनेक्सन प्रहरीले भेट्टाउन सकेको छैन ।
अभियुक्त विकलाई लागुऔषध सम्बन्धी कसुरमा जिल्ला अदालतबाट १० दिनको म्याद लिएर थप अनुसन्धान प्रकृया अगाडी बढाइएको सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले बताए ।
‘घरबाटै लागुऔषधको ‘धन्दा’ चलाउने गरेको अनुमान छ,कारोवारी र प्रयोगकर्ताले नयाँ नयाँ गन्तव्यको खोजी गर्ने गरेको पाइन्छ, शहरी क्षेत्रमा असुरक्षित महसुस गरेका कारोबारीहरु ग्रामिण क्षेत्र तर्फ पुग्ने गरेको पाइएको पौडेलको भनाई छ ।
म्याग्दी प्रहरीले कारोबारी र प्रयोगकर्ताले सुरक्षित गन्तव्यको रुपमा उपयोग गर्न थालेका क्षेत्रहरूमा निगरानी बढाइएको बताए । जिल्लामा हालसम्म प्रहरीको अनुसन्धानमा पहिला लागुऔषध सेवन गर्ने व्यक्तिहरू नै कमाइ हुने देखेपछि ब्यापारमा संलग्नता हुने गरेको समेत भेटिएको छ । लागुऔषध भारतीय बजारबाटजति टाढा पु¥याउन सकियो मूल्य बढ्दै जान्छ ।
५ बर्षको तथ्याङ्क
जिल्ला प्रहरी कार्यालय म्याग्दीको पछिल्लो पाँच बर्षकोे तथ्याङ्क हेर्दा लागु औषधको कारोबार र प्रयोगकर्ता गरी ३२ जनालाई मुद्धा दर्ता गरिएको छ । २०७६÷७७ मा १०९ एम्पुल डाईजापाम, १०९ एम्पुल फेनेरागन, १११ एम्पुल नुर्फिन, ४ थान सिरिन्ज, १४२ ग्राम चरेश, ७ किलो ९५० ग्राम गाँजा बरामद गरेको थियो ।
२०७७÷७८ मा १५० एम्पुल डाईजेपाम, १४९ एम्पुल फेनारागन, १४८ एम्पुल नोर्फिन, ३२ केजी १७५ ग्राम गाँजा र नगद १२ हजार, २०७८÷७९ मा ७ एम्पुल डाईजेपाम, ८ एम्पुल फेनेरागन, ७ एम्पुल नुर्फिन र ५४८ ग्राम गाँजा, २०७९÷०८०मा ६.५ ग्राम लागूऔषध खैरो हिरोईन, लागुऔषध डाईजेपाम २३४ एम्पुल, फेनारागन २३५ एम्पुल र नुर्फिन २३४ एम्पुल, ३ केजी ४० ग्राम गाँजा, २०८०÷०८१ मा ७ केजी १.१८ ग्राम गाँजा, ४ किलो ४६ ग्राम चरेस ९ सय क्याप्सुल ट्रामाडोल, ५० ट्याब्लेट एन्टिकप र २०८१÷०८२मा डाईजेपाम–३९८, फेनेरागर–३९७ र नुर्फिन–३९८ बरामद भएको प्रहरीले दिएको तथ्याङ्कमा छ।
माथिको तथ्याङ्क बेनीबजार आसपासमा लागू औषधको कारोबार कसरी र कुन स्वरूपमा भइरहेको छ भन्ने बुझाउने मात्रै नभई आर्थिक हिसाबले सस्तो र बिक्रेताको संख्या अधिक भएर होला सुईबाट लागु औषध लिनेको संख्या बढेको देखिन्छ ।
बेनीमा खैरो हेरोइन पनि भित्रिन्छ
म्याग्दीमा २ बर्ष अगाडी खैरो हेरोइनको लतमा फसेका यूवाहरूलाई लक्षित गरी भारतको पश्चिम बंगाल घर भएका २८ वर्षीय अलेमुन हकले ल्याएको ६.५ ग्राम खैरो हेरोइन कालिपुलबाट बरामद गरेको थियो । यो सबैभन्दा लागु औषधको प्रयोगकर्ता खोजेपनि प्रहरीले भेटाउन सकेन ।
म्याग्दीभित्र खैरो हिरोइनका प्रयोगकर्ता कति छन्? भन्ने बारेमा यकिन संख्यासम्म प्रहरी नपुगेपनि भारतीय नागरिक सिधै बेनीमा बिक्रीका लागि प्रवेश गरेको अवस्थामा नियमित ग्राहक हुनसक्ने अनुमान भने प्रहरीको छ । चिकित्सकको सिफारिसमा मात्रै प्रयोग गर्न मिल्ने औषधिहरू डाइजेपाम, फेनारगन, नोफिन, नाइट्रोभेट छ्यापछ्याप्ती पाइन्छ। खैरो हेरोइन नपाइएपछि प्रयोगकर्ताले एम्पुल प्रयोग गर्ने गरेको समेत भेटिएको छ।
प्रयोगकर्ताको आफ्नै भाषा
म्याग्दीमा धुलोको तुलनामा सस्तो हुने भएकाले सुईबाट लिने प्रयोगकर्ता बढेको बताउने एक दुब्र्यसनील नाम नलेख्ने सर्तमा बताए। उनका अनुसार प्रहरीले थाह पाउने डरले आफ्ना साथीमाझ र बिक्रेताका लागि फरक भाषा प्रयोग गर्छन्। प्रयोगकर्तामाझ खैरो हेरोइनलाई धुलो, पिठो, सामान र माल,एम्पुललाई पानी र ग्लुकोज र विक्रेतालाई डिलर, पासा, साहू, साथीजस्ता शब्द प्रयोग गर्ने गरेकोमा अहिले बिक्रेताहरू बस्ने ठाउँ, बोलाउने नाम, थर लगायत समेत प्रयोग गर्ने गरिएको छ ।
प्रयोगकर्ताले एक ठाउँमा राखिदिएपछि तस्वीर र लोकेशन समेत पठाउने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । सेवनकर्ताले आफैँले प्रयोग गर्न सजिलो र बेचेमा मनग्गे कमाइ गर्न सकिने बताएपछि यस्तो धन्दामा लागेको प्रहरीसँग बताउने गरेका छन्। हुनेखानेका परिवारका सदस्य मात्रै होइन, मध्यमदेखि निम्न वर्गीय परिवारका सदस्यसम्म लागू औषधको दलदलमा फसिरहेको म्याग्दी प्रहरीले जनाएको छ ।
चरेस भारतसम्म पुग्छ
बि.स २०८० साल फागुनमा म्याग्दीको मालिका गाउँपालिका–२, रुमका ३४ वर्षीय तिलक विकको घरबाट चरेस बनाउने मेसिनसहित ठुलो मात्रामा बजारमा लैजान तयार पारिएको साम्रगी प्रहरीले बरामद ग¥यो । पछिल्लो एकदशक यता चरेससहित पक्राउ परेका विक सहितका अभियुक्तले चरेस पोखरा हुँदै छिमेकी देश भारतको जोगवनी बजारसम्म पु¥याउने गरेको पाइएको थियो । जिल्लाभित्र बरामद भएका चरेसको माग बढेसँगै बुटवलतर्फ लैजाने नियन्त्रणमा लिइएकामा पुरुषसँगै महिलाको समेत संलग्नता थियो ।
म्याग्दीबाट चरेसको ओसारपसार हुन्छ भन्ने तथ्य सार्वजनिक भएपछि प्रहरीले खेतबारीमा व्यावसायिक रूपमा गाँजा खेती नगरिए पनि प्रहरीको नियमित नजर नपुग्ने क्षेत्रसम्म पुगेर समुदायकै सहयोगमा धमाधम गाँजा फडानीलाई तिब्रता दिएको छ सार्वजनिक र ब्यक्तिगत जग्गामा उुम्रिएको गाँजालाई खोज र नष्ट गर्ने अभियानमा जुटेको प्रहरीले यो अभियानलाई निरन्तरता दिएको छ । समुदायस्तरमा संकलन गरिएको गाँजाको बोटलाई तत्कालै आगो लगाएर नष्ट गर्ने गरिएको छ ।
छोराछोरी कुलतमा फसेको कसरी थाहा पाउने?
म्याग्दीमा लागुऔषधको प्रयोग चिन्ताजनक ढंगले बढ्दै गएको छ । बेनीबजार तथा आसपासका सहरी क्षेत्रबाट बरामद हुने लागुऔषध अहिले गाउँका घरहरूमा समेत भेटिन्छ । चुरोट, गाँजा हुदै युवापुस्ता, सिरिन्ज र ब्राउन सुगर लगायतको प्रयोगमा तल्लिन छन् । भुसको आगो जस्तै डरलाग्दो गरि लागुऔषधको समस्याले किशोर किशोरी र युवाहरुमा फैलिरहेकाले समाजका लागि चिन्ताको बिषय बनेको छ ।
देश विकासको आधार मानिने युवा जमात लागुऔषधले बर्वाद भैरहेको अवस्थामा अभिभावकले आफ्ना छोराछोरी प्रति निगरानी नराख्नाले लहलहीमा लागेर दलदलमा फस्ने गरेका छन्। बेनी अस्पतालका मेडिकल अधिकृत डा.गोविन्द पोख्रेललका अनु्सार स्वभाव, बोल्ने शैली र दैनिकी अचानक परिवर्तन हुँदै गएको सन्तानलाई अभिभावकले निगरानीमा राख्नुपर्ने बताउँछन् ।
उनले राती अबेरसम्म बस्ने, नियमित विद्यालयमा नजाने, पढाइप्रतिको रुची कम, खर्च धेरै गर्ने,शरीरमा समेत परिवर्तन देखेमा कुलतमा फस्ने सम्भावना धेरै हुने बताए । घर र विद्यालय बाहेक अन्य स्थानमा जाने छोराछोरीका बारेमा अभिभावकले निगरानी राख्नु्पर्ने डा. पोख्रेललको सुझाव छ । अभिभावकसँगै विद्यालयले समेत विद्यार्थीको गतिविधिलाई निगरानीमा राख्नुपर्छ ।
घरमा झगडा गरेर चाहिने भन्दा बढी पैसा माग्नु, घरबाट पैसा र बहुमूल्य समान हराउँदै जानु, शरीरमा काटिएको खत देखिनु, घरमा ढिलो आउनु, छटपटी हुनु, शरीर काम्नु, सुत्ने र उठ्ने समय अचानक परिवर्तन हुनु, आँखा रातो हुनु, बोली लर्बरिनु, आँखा जुधाएर कुरा गर्न नसक्नु, सरसफाइमा ध्यान नदिनु, शौचालयमा लामो समय बिताउनु, एक्लोपन रुचाउनु जस्ता मुख्य लक्षण प्रयोगर्तामा देखिन्छ । आफ्ना सन्तान कुलतमा फसेको समाजबाट लुकाउने, गल्तीमा समेत सन्तानको पक्षमा बोल्ने अभिभावकको गल्तीले झन समस्या हुने गरेको स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन् ।