म्याग्दीको बेनी नगरपालिकाले नगर क्षेत्र भित्रका किसानहरुलाई लक्षित गरेर जै घाँसको बिउ वितरण गरेको छ । बेनी नगरको चालु आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक नीति, कार्यक्रम र बजेटमार्फत हिउँदको समयमा घाँसको आपूर्ति गर्नेगरी किसानलाई जै घाँसको बिउ वितरण गरिएको हो ।
नगरपालिकाको पशु सेवा शाखाले पर्वतको पाङ र बागलुङको कुँडुलेबाट कृषक समूहले उत्पादन गरेको जै घाँसको बिउ खरिद गरेर नगर क्षेत्रका किसानहरुलाई निःशुल्क रुपमा वितरण गरेको बेनी नगरपालिकाका सहायक पशु चिकित्सक प्रदीप गौतमले जानकारी दिनुभयो । उहाँले नगर क्षेत्रका ३ सय ९७ जना किसानहरुलाई १९ सय केजी जै घाँसको बिउ वितरण गरिएको बताउनुभयो ।
कार्तिक पहिलो, दोस्रो र मंसिर पहिलो सातामा किसानहरुलाई जै घाँसको बिउ वितरण गरिएको थियो । बेनी नगरपालिकाको सबै वडाका किसानहरुलाई लक्षित गरेर जै घाँसको बिउ वितरण गरिएको सहायक पशु चिकित्सक गौतमले बताउनुभयो । हिउँदको समयमा हरियो घाँसको कमी हुने भएकाले विकल्पको रुपमा पशु, चौपायालाई खुवाउन जै–घाँसको उत्पादन गरी प्रयोग गर्ने गरिन्छ ।
जै घाँस हिउँदको महिनामा लगाउने एक प्रकारको घाँस हो । यो घाँस असोज, कार्तिक र मंसिर महिनामा लगाउने गरिन्छ । व्यावसायिक रुपमा पशुपालन गरेका किसानहरुले बढी मात्रामा जै घाँसको प्रयोग गर्ने गर्दछन् । यो घाँसलाई तीन पटकसम्म काटेर पशु, चौपायालाई खुवाउनको लागि प्रयोग गर्ने गरिन्छ ।