म्याग्दीमा गएको आर्थिक वर्ष २०८०÷०८१ मा म्याग्दीमा २२ सय जनाको परीक्षण गर्दा ५ जनामा एचाईभीका संक्रमितको पहिचान भएको छ । सदरमुकाम बेनीमा एचआईभी एड्ससम्बन्धी विषयमा बिहीबार सरोकारवालाहरुसँग अभिमुखीकरण कार्यक्रम जिल्लामा आर्थिक वर्ष ०७९÷८० मा परीक्षण गर्दा भने एचआईभी संक्रमित कोही पनि नभेटिएको अर्थात् संक्रमितको सङख्या शुन्य रहेको पाइएको थियो ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयको आयोजना र स्वास्थ्य कार्यालय म्याग्दीको समन्वयमा आयोजित अभिमुखीकरण म्याग्दीमा हालसम्म १ सय २४ जनामा एचाईभी संक्रमण पुष्टि भएकोमा तीमध्ये ८८ जनाले नियमित रुपमा औषधी प्रयोग गरिरहेका छन् भने कोही जिल्ला बाहिर र कतिपयको मृत्यु हुन सक्ने अनुमान गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भूवन ठकुराठीले बताउनुभयो ।
म्याग्दीमा लामखुट्टेबाट एचआईभी एड्स संक्रमण हुन्छ भन्दै एक ब्यक्तिलाई लामो समयसम्म घरभित्रै राखिएको समेत भेटिएको बताउँदै अनावश्यक हल्लाले समेत संक्रमति भएकाहरू नै समाजमा त्रसित हुनुपर्ने अवस्था रहेको बताउनुभयो ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत कमल रानाभाट र सुजता पोख्रेलले एचआईभी एड्ससम्बन्धी लाञ्छना तथा भेदभाव र नीतिगत व्यवस्थाका बारेमा सहजीकरण गर्नुभएको थियो । एचआईभी एड्स कसरी सर्छ र यसको रोकथामको बारेमा समुदायलाई बुझाउनुपर्ने आवश्यकता समेत औंल्याइएको थियो ।
एचआईभी एड्स मुख्य गरी असुरक्षित यौनसम्पर्क, निर्मलीकरण नगरेको सुई र संक्रमित महिलाले बच्चा जन्माउँदा सर्ने जोखिम उच्च भएपनि म्याग्दीमा संक्रमतिबाट जन्मिएका ५ सन्तानमा नेगेटिभ आएको बताउँदै समाजमा संक्रमतिलाई सम्मानको आवश्यकता र सचेतनामुलक अभियानमा सक्रिय बनाउनुपर्ने बताइएको थियो ।
बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले एचआईभी एड्स प्राणघातक रोगबाट अहिले संक्रामकजन्य रोगमा झरेको बताउनुभयो । म्याग्दीमा बाहिरी जिल्लाबाट आउने संक्रमतिले समेत नियमित औषधिकोे सेवन नगर्ने, उपचारको क्रममा विवरण लुकाउने जस्ता समस्या समेत रहेको बताइएको थियो ।
कार्यक्रम स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्लास्थित विभिन्न सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।