लायन्स क्लब अप बेनी लभ्लीहिलको आयोजनामा बिहिबार देखि शुरु भएको अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिताको पहिलो दिन चार खेल सकिएको छ । पहिलो दिनको खेलमा प्रकाश माध्यमिक विद्यालयलाई शुन्यका बिरुद्ध दुई गोलले पराजित गर्दै न्यू वेष्ट प्वाइन्ट आवासिय माध्यमिक विद्यालय दोश्रो चरणमा प्रवेश गरेको छ ।
त्यस्तै दोश्रो खेलमा म्याग्दी एकेडेमी सिंगालाई दुई शुन्य गोलअन्तरले पराजित गर्दै बेनी सामुदायीकले दोश्रो चरणमा पुग्दा लिटिल गार्डेन एकेडेमीलाई तीन शुन्य गोलअन्तरले पराजित गर्दै धौलागिरी माध्यमिक विद्यालय सिंगा अगाडी बढेको छ । बिहीबार भएको अन्तिम खेलमा गलेश्वर आदर्श बोर्डीङलाई तीन शुन्यले पराजित गर्दै बेनी बोर्डीङले आफ्नो दोश्रो चरणको ढोका खोलेको छ ।
छात्राहरुको फुटबल खेल प्रतिभालाई प्रष्फुटन गर्ने हेतुले जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय(कक्षा १० सम्म) छात्रा रनिङ शिल्ड फुटबल प्रतियोगिताको उद्घाटन भने बुधबार नै भएको थियो । लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा मंसिर १३ गते शुरु भएको प्रतियोगिता १५ गते सम्म चल्ने छ ।
जिल्ला भित्रका १० विद्यालयका छात्राहरुको सहभागिता रहेको उक्त प्रतियोगिताको फाइनल शनिबार हुने छ । छात्रा फुटबल प्रतियोगिता अयोजनाले फुटबलमा भएको प्रतिभा पहिचान गर्न सहयोग पुग्ने लायन्स क्लब अफ बेनी लभ्लीहीलका अध्यक्ष सोहन श्रेष्ठले बताउनुभयो ।
प्रतियोगिताको विजेताले ३५ हजार, उपविजेता २० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र र अनु्शासित टिमलाई ५ हजार रुपैयाँनगद प्रदान गरिने छ । त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षक र राइजिङ प्लेयरलाई नगद सहित पुरस्कृत गरिनेछ ।