बेनी नगरपालिका-९,अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरमा बालाचार्तुदर्शी मेलाको तयारी पुरा भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषले २४ वटा विभिन्न उपसमिति गठन गरेर पर्वको अवसरमा हुने सतविज छर्ने मेलालाई व्यवस्थित बनाउने तयारीमा जुटेको हो ।

कोषका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा मुल र अन्य उपसमितिहरु मार्फत शिवरात्री मेलाको तयारी तिव्र बनाएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव बलबहादुर खत्रीले जानकारी दिनुभयो । शनिबार विहानैदेखि शतबीज छर्नका लागि भक्तजनको घुईचो लाग्ने भएकाले सम्पूर्ण तयारी पूरा गरिएको कोषले जनाएको छ ।

गलेश्वर मन्दिरको प्रवेशद्धार अन्तरगत पार्किङस्थलदेखि नै नेपाल प्रहरी, शसस्त्र प्रहरीले स्वमसेवकहरु परिचालन गरिने छ भने गलेश्वरमा पुजाआजाका साथै बालाचर्तुदर्शीको अवसरमा घुम्ती ब्यापार मेलामा आउनेलाई समेत ब्यापार गर्ने ठाउँ तोकिएको छ ।

मन्दिरस्थलमा कपडा, भाँडावर्तन, काठका ठेका, डोका, नाङ्ला लगायतका सामाग्रीको किनमेल गर्नेहरुलाई सहज बनाउनुका साथै पूजाका लागि आउने भक्तजनको सहजताका लागि सिसीक्यामेराबाट समेत निगरानी गरिने छ ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधबप्रसाद रेग्मीले पूजाआजा गर्न आउँदा गरगहना लगाएर र मन्दिरमा दान बाहेक अनावश्यक पैसा सहित बहुमल्य साम्रागीहरु लिएर नआउन समेत अनुरोध गर्नुभएको छ ।

विगतमा पूजाआजा गर्न आएका भक्तजनहरुले गरगहना र नगद चोरी भएको गुनासो गरेपछि यसपटक कोषले अघिल्लो दिन नै अपिल गरेको छ ।

कृष्णागण्डकी किनारमा रहेको ९ रोपनी चट्टानमा फैलिएको एउटै गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पुरा हुने जनविश्वासले मुक्तिनाथ मन्दिरमा जाने भक्तजनले समेत दर्शन गर्ने गरेका छन् ।

ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभई स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ ।बालाचर्तुदशीमा सतविज छरेमा पितृ उद्धार हुने जनविश्वास छ ।

Leave a Reply