म्याग्दी कोरला यातायात प्रालिले दुईवटा विद्युतीय एसी माइक्रोबस सेवा सञ्चालन थप गरेको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३, दानादेखि पोखरा र बेनी-मुस्ताङ सडकखण्डमा शनिबारदेखि १४ सिटे इलेक्ट्रिक माइक्रोबस सेवा सञ्चालन गर्ने भएको हो ।

दानाबाट पोखरा र बेनीबाट जोमसोमका लागि टिकट समेत बुकिङ भइसकेको म्याग्दी कोरला यातायात प्रालिका कार्यवाहक अध्यक्ष मोहन केसीले बताउनुभयो। उक्त सेवासँगै दाना–पोखरा ८ सय, बेनी–जोमसोम ७ सय, बेनी–मुक्तिनाथ १ हजार, बेनी–पोखरा ५ सय भाडादर समेत तोकिएको छ ।

‘यात्रुको सहजता र चाहना अनुसारको गन्तव्यमा सेवा विस्तार गरिएको छ,अबको केही दिनमा थप दुईवटा बस आउँदैछ’अध्यक्ष केसीले भन्नुभयो। थप दुईवटा बसलाई पश्चिम म्याग्दीको दरबाङदेखि पोखरा र बेनी–पोखरा रुटमा सञ्चालनको तयारी समेत भएको अध्यक्ष केसीको भनाई छ ।

विद्युतीय सवारीसाधनको बढ्दो माग र प्रयोग हुन थालेपछि प्रालीले पहिलो पटक बागलुङदेखि पोखराका लागि विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याइएको उनको भनाइ छ । एउटा गाडीको मूल्य ५६ लाख ५० हजार मुल्य रहेको छ । म्याग्दीमा इलेक्ट्रिक’ बस सेवा सञ्चालनसँगै यात्रुलाई एसी सहितको सुविधाले समेत सहज भएको छ ।

म्याग्दी कोरला यातायात प्रालिले चारवटा एसी माइक्रोबसमा २ करोड २६ लाख लगानी गर्ने जनाएको छ । इलेक्ट्रिक माइक्रोबसले वातावरण प्रदूषणमा कमी आउने, इन्धनमा लाग्ने खर्च नहुने भएकाले यात्रुलाई भाडादरमा समेत राहत हुने बताइएको छ। म्याग्दी कोरलाले विद्युतीय बस निर्धारित समयमै छुट्ने र गन्तव्यमा पुग्ने जनाएको छ ।

Leave a Reply