नेपाल उत्पीडित जातीय मुक्ति समाज म्याग्दीको छैटौं जिल्ला अधिवेशनबाट अध्यक्षमा बलबहादुर विश्वकर्मा चयन हुनुभएको छ । ‘जातीय भेदभाद तथा छुवाछुतको अन्त्य गर्न राष्ट्रिय नीति निर्माण गरौं, समानुपातिक समावेशीपूर्ण प्रतिनिधित्वको संवैधानिक अग्राधिकार सुनिश्चित गरौं’ भन्ने नारासहित शनिवार बेनीमा सम्पन्न अधिवेशनले विश्वकर्माको अध्यक्षतामा नयाँ जिल्ला कमिटी निर्वाचित गरेको हो ।
अधिवेशनबाट समाजको उपाध्यक्षमा जानकी विश्वकर्मा, सचिवमा टेकबहादुर किसान, उपसचिवमा विरबहादुर विक र कोषाध्यक्षमा हिमबहादुर विक चयन हुनुभएको छ । यसैगरी २५ सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको समाजको जिल्ला कमिटी सदस्यहरुमा टेकबहादुर विक, यामबहादुर सिर्पाली, चक्रबहादुर विक, किस्मत विक, जालमाया परियार, माईकल परियार, मिठू विक, सम्मर मिजारलगायत रहनुभएको छ ।
यसअघि अधिवेशनको उद्घाटनपछि सम्बोधन गर्दै नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर वि. पौडेलले तीन हजार वर्ष पहिलेदेखि चल्दै आएको जातीय विभेद केही सुधार भए पनि अझै उत्पीडित एवं दलित समुदायले विभेद भोग्नुपरिरहेको बताउनुभयो । उहाँले दलित समुदाय अहिले पनि राज्यको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिकलगायत विविध क्षेत्रको थिचोमिचोमा परिरहेको बताउँदै संविधानमा उल्लेखित हक, अधिकार तथा न्यायको पूर्ण रुपमा उपभोग गर्ने वातावरण बनाउन माग गर्नुभयो ।
जिल्ला समन्वय समिति पर्वतका पूर्व प्रमुख समेत रहनुभएका केन्द्रीय अध्यक्ष पौडेलले समाजमा रहेको जातीय विभेद, वर्गीय असमानता र थिचोमिचोको अन्त्य गर्नका लागि उत्पीडित जातीय मुक्ति समाज जस्ता संघ, सङ्गठनको आवश्यकता रहेको बताउँदै नेकपा एमालेले २०४५ सालमा नै मुक्ति समाजको स्थापना गरेको बताउनुभयो । जातीय विभेदको अन्त्य र सामाजिक न्यायको आन्दोलनमा एमालेले गरेको प्रयास सकारात्मक रहेको बताउँदै उहाँले सम्पूर्ण दलित समुदाय उत्पीडित जातीय मुक्ति समाजमा गोलबन्द हुन आह्वान समेत गर्नुभयो ।
सोही कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्रबहादुर थापाले जातीय विभेदको अन्त्य गर्न र उत्पीडित समुदायको हक अधिकारका लागि एमाले नेतृत्वको सरकारले देशलाई जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको बताउनुभयो । उहाँले राज्यका हरेक क्षेत्रमा समानुपातिक र समावेशीको व्यवस्था गर्न एमालेले पहलकदमी गरेको बताउँदै पार्टीभित्र रहेका हरेक संघ, सङ्गठनहरुमा विधानअनुसार सहभागिताको सुनिश्चितताको ग्यारेन्टी गरिएको बताउनुभयो ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले जातीय छुवाछुत र विभेद अन्त्यका लागि एमाले पार्टी सधैँ दलित समुदायको पक्षमा रहेको बताउँदै जनसङ्गठनमा बस्नेहरुले आ–आफ्नो जिम्मेवारी अनुसार संघ, सङ्गठन र पार्टीको काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा एमाले गण्डकी प्रदेश उपसचिव दानबहादुर विश्वकर्मा, जातीय मुक्ति समाजका केन्द्रीय सचिव धनबहादुर नेपाली, केन्द्रीय सचिवालय सदस्य विष्णु विक, पुष्कर विक, एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी र जातीय मुक्ति समाज गण्डकी प्रदेश अध्यक्ष निर्मल दियालीले मन्तव्य व्यक्त गर्दै जातीय छुवाछुत, थिचोमिचो र विभेदको विरुद्धमा निरन्तर लडिरहने बताउनुभयो ।
कार्यक्रममा म्याग्दी जिल्लामा विगतदेखि नै भैरहेका विभिन्न जातीय छुवाछुत, विभेद र असमानताको विरुद्धमा जातीय मुक्ति समाजले निरन्तर रुपमा संघर्ष गर्दै आइरहेको बताइएको थियो । कार्यक्रम जातीय मुक्ति समाजको भेला आयोजक कमिटी संयोजक खरमाया बिटालुको अध्यक्षता, प्रदेश सदस्य बलबहादुर विश्वकर्माको स्वागत र जिल्ला इन्चार्ज सुवास विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
Home स्थानिय समाचार म्याग्दी समाचार नेपाल उत्पीडित जातीय मुक्ति समाजको छैटौं जिल्ला अधिवेशन, अध्यक्षमा विश्वकर्मा चयन