बेनी नगरपालीका-९ मा रहेको म्याग्दीको प्रशिद्ध गलेश्वर शिवालय मन्दिरमा बालाचतुर्दशी मेलामा साढे ६ लाखभन्दा बढी भेटी संकलन भएको छ । शनिबार बालाचतुर्दशीका दिन शतबीज छर्ने र दीपदान गर्ने भक्तजनहरूबाट छ लाख ६१ हजार दुई सय ८४ रुपैयाँ भेटी संकलन भएको हो ।
मन्दिरमा रसिद काटेर एक लाख ८५ हजार पाँच सय ५८ रुपियाँ र दानपेटीकाहरुमा चडाएको चार लाख ७८ हजार सात सय २६ गरी छ लाख ६१ हजार दुई सय ८४ रुपैयाँ संकलन भएको बालाचतुर्दशीमा आएका भक्तजनले दानपेटीकामा चडाएको तथा आफ्नो स्वइच्छाले रसिद काटेर दान गरेको पुगेको कोषका कार्यालय सचिव रामबहादुर बानियाँले बताए । बालाचतुर्दशीका दिन करिब ४० हजार भन्दा बढी भक्तजनहरु मन्दिरमा दर्शन गरेको अनुमान गरिएको छ ।
File photo
पश्चिम नेपालको पशुपतिनाथको रूपमा चिनिएको सदरमुकाम बेनीबजारदेखि ३ किलोमिटर उत्तरमा पर्ने गलेश्वर धाममा रातिदेखि नै टाढाटाढाका भक्तजनहरू आएका थिए । आइतबार विहान सरोकारवाला निकायको उपस्थितिको गलेश्वर मन्दिर परिसरमा पूजापाठका लागि आएका भक्तजनबाट चढाइएको भेटी सार्वजनिक गरिएको कोषका सदस्य सचिव बलबहादुर खत्रीले बताए ।‘सङ्कलित भेटी कोषको खातामा जम्मा गरिएको छ।
ठूला पर्वमा भोलिपल्टै र नियमित महिनाको २ पटक गन्ने गरिन्छ’ सचिव खत्रीले भने। गतबर्ष बालाचतुर्दशीमा साढे ४ लाख र अघिल्लो बर्ष ३ लाख २५ हजार संकलन भ्एको थियो ।मन्दिरमा संकलन भएको भेटी मुचुल्का गरेर प्रहरीकै सुरक्षामा भेटी र कोषमा राखिएको चाबी प्रहरी चौकीबाट मन्दिर परिसरमा ल्याइएको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए।
चालु आर्थिक वर्षको साउन भन्दा यता मात्रै मन्दिरमा भक्तजनहरुले ३३ लाख ५६ हजार एक सय सात रुपैयाँ भेटी संकलन भएको छ । कृष्णागण्डकीबाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरे मात्रै पनि मनोकामना पुरा हुने जनविश्वासले मुक्तिनाथ मन्दिरमा जाने भक्तजनले समेत दर्शन गर्ने गरेका छन्।ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभई स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ।