प्रविधिमैत्री र बजारको माग अनुुसारको जनशक्ती उत्पादन गर्न बेनी नगरपालिका-८ ले तीन महिने कम्युप्टर तालिम सञ्चालन गरेको छ । तीन महिने कम्युप्टर डिप्लोमा र ग्राफिक्स डिजाइन सहितको तालिमको नगर प्रमुख सुरत केसीले उद्घाटन गदैं कम्प्युटर सीप सिकिसकेकालाई रोजगारको समस्या नभएको बताउनुभयो ।
सीप भएकालाई स्वदेशमै राम्रो अवसर भएको बताउँदै उद्यमशीलता र उत्पादनमुखी क्षेत्रमा गरिएको लगानीमात्रै सदुपयोग भएपनि बेरोजगारी न्यूनीकरणको लक्ष्य पूरा हुने बताउनुभयो ।
सोही अवसरमा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, वडाका जनप्रतिनिधि सहित पहिलो दिन ३० जनाको सहभागिता रहेको थियो । वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले कम्प्युटर तालिमले युवालाई स्वरोजगार बन्न प्रेरणा दिने र अवसरका लागि समेत सहजीकरण गरिने बताउनुभयो ।
सीप सिकेका दक्ष युवालाई स्थानीय सरकारले समेत सहयोग गरिरहेको अध्यक्ष कर्माचार्यको भनाई थियो । तालिममा सहभागीले कम्प्युटर सीप सिकेर भविष्यमा व्यावसायिक बन्नुका साथै आयआर्जनका क्षेत्रमा समेत सहज हुने भएकाले तालिममा सहभागी भएको बताएका थिए । कम्प्युटर तालिम लिन पाउँदा युवायुवती उत्साहित भएका छन्।