म्याग्दीको मालिका गाउँपालिका-७ बिममा संचालित किसानी कृषि प्राविधिक शिक्षालयले स्थापना गरेको किसानी सञ्जीवनी अक्षयकोषमा ७३ लाखभन्दा बढी आर्थिक संकलन भएको छ ।

अक्षय कोषको घोषणा भएको करिब एक महिनाको अवधिमा स्वदेश तथा विदेशमा कुल ७३ लाख ६७ हजार ५७२ रुपैयाँ संकलन भएको अक्षयकोषका विदेश विभाग प्रमुख कृष्ण जुग्जालीले बताउनुभयो । ‘एक महिनाको अवधिमा हामीले ठूलो सहयोग जुटाउन सफल भएका छौ, यो अभियान निरन्तर छ, अझै विदेशमा धेरैले सहयोग गदैं हुनुहुन्छ’ विदेश विभाग संयोजक जुग्जालीले भन्नुभयो ।

अक्षयकोषका लागि छोटो अवधिमा धेरै संकलन भएको बताउँदै दैनिकजसो स्वतस्फूर्त रुपमा सहयोग आइरहेको किसानी कृषि प्राविधिक शिक्षालयका प्राचार्य जंगबहादुर गर्बुजाले बताउनुभयो ।

देशका विभिन्न जिल्लाबाट कृषि र भेटेरनरी शिक्षा लिनका लागि आउने गरिब,विपन्न र जेहेनदार विद्यार्थीहरुको सहयोगका लागि दुई करोडको अक्षयकोष स्थापना गरेपछि हाल सञ्चालित अभियान रोकिएपनि त्यसपछि सहयोग गर्न चाहनेले सहयोग गर्न सक्ने प्राचार्य गर्बुजाको भनाई छ । यो अभियानमा आफ्नो क्षमता अनुसार सहयोग गर्न समेत विद्यालयले अपिल गरिएको छ ।

व्यावसायिक कृषितर्फ उन्मुख क्षेत्रमा बाली विज्ञान, पशु चिकित्सा (भेटेरिनरी) विषयमा पढाइ हुने यस शिक्षालयमा विद्यार्थीको आकर्षण पनि बढेको छ। बिममा २०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटिए, २०७२ सालदेखि तीनवर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीनवर्षे पशुविज्ञान तहको पठनपाठन सुरु भएको थियो । अहिले यहाँ २१ जिल्लाका विद्यार्थी अध्ययनरत रहेका छन् ।

कृषि विषयको प्राविधिक शिक्षा सामुदायिक विद्यालयमै पठनपाठन हुन थालेपछि विद्यार्थी अध्ययनसँगै खेतीको अभ्यासमा पनि लाग्न थालेका छन् । देशका विभिन्न जिल्लामा सञ्चालन खर्च समेत जुटाउन नसकिरहेको कृषि प्राविधिक शिक्षालयका बिच पश्चिम म्याग्दीमा रहेका किसानी कृषि प्राविधिक शिक्षालयमा भने देशभरबाट पढ्न आउने र रोजगारीका लागि समेत धमाधम सिफारिस भइरहेका छन् ।

कृषि पढ्ने विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले किसानका खेतबारीमा नै पुगेर प्रयोगात्मक अभ्यास गराउनाका साथै फलफूल खेती, तरकारी खेती, दलहन बाली र रैथाने जातका कृषि उपजहरु उत्पादन गरी बजारमा लगेर बिक्री समेत गर्ने गरिएको छ। कृषि प्राविधिक शिक्षालयको स्थापना यहाँ विद्यार्थी र शिक्षकहरुकै प्रयासमा उत्पादन भएको बस्तु बिक्री गरी विद्यार्थीले आफ्नो खर्च चलाउने गरेका छन् ।

Leave a Reply