नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत नवौँ खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई ७३ रनले पराजित गरेको छ।

सुदूरपश्चिम रोयल्सले दिएको १६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौं गोर्खाजले १५.५ ओभरमा सबै विकेट गुमाएर मात्र ९४ रन बनाउन सक्यो। युवा बलर नरेन साउदले ५ विकेट लिएपछि काठमाडौं ९४ रनमा अलआउट भएको हो।

काठमाडौं गोर्खाजका लागि स्टीफन एस्किनाजीले सर्वाधिक ३७ रनको योगदान दिए। उनले ३३ बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए।

सुमित महर्जनले १० बलमा १४ रन जोड्दै अभिनास बोहोराको बलमा नरेन साउदबाट क्याच आउट भए। भीम सार्की ८ बलमा १० रन बनाउँदै रन आउट भए। जेहार्ड एरास्मसले ५ बलमा १० रन जोडे।

सुदूरपश्चिमका लागि नरेन साउदले ३.५ ओभरमा १९ रन खर्चिएर ५ विकेट लिए। अभिनास बोहोराले २ तथा ब्रन्डन म्याकमुलन र सेफ जैबले समान १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ब्रान्डन म्याकमुलनको अर्धशतक, कप्तान दीपेन्द्रसिंह ऐरी र विनोद भण्डारीको राम्रो पारीको मद्दतले ६ विकेटको क्षतिमा १६८ रन जोडेको थियो।

म्याकमुलनले ३६ बलमा ५३ रन जोड्दा दीपेन्द्रले २५ बलमा ४३ र विनोदले २८ बलमा ३५ रनको योगदान दिए।

काठमाडौंका तर्फबाट रसिद खानले चार ओभरमा २० रन खर्चेर २ विकेट, शाहब आलमले ४ ओभरमा २८ रन खर्चेर एक विकेट कप्तान करन केसीले ४ ओभरमा ४० रन खर्चेर एक विकेट र गेरार्ड एरासमसले २ ओभरमा ९ रन खर्चेर एक विकेट लिए।

Leave a Reply