पश्चिम म्याग्दीको दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजनालाई कम लागतमा आगामी दुई बर्षभित्र परीक्षण उत्पादन गर्ने आयोजना पक्षले प्रतिबद्धता जनाएको छ । शुक्रबार दरबाङमा आयोजित प्रारम्भीक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनुवाई कार्यक्रममा आगामी बैशाख महिनाभित्र सुरूङ थिचोल्दै ब्रेक थ्रु गर्ने गरी सिभिलतर्फको काम दुई सिफ्टमा गर्ने गरी जनशक्ती ब्यवस्थापन गरिएको बताइएको थियो ।

सार्वजनिक सुनुवाईको उद्घाटन गदैं गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले समुदायलाई फाइदा हुने गरी समयमै आयोजनाको काम सम्पन्न गर्न अनुरोध गर्नुभयो ।

सोही अवसरमा बिशिष्ट अतिथि मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले निर्माणधिन अवस्थामा रहेका जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका बासिन्दाको समस्यालाई समेत समाधान गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय सरकार, समुदायस्तरबाट सहयोग भइरहेको अवस्थामा सामाजिक उत्तरदाहित्व अन्तरगतका कार्यक्रमहरु शिक्षा, स्वास्थ्य तथा समुदायस्तरका आवश्यकतामा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, मालिका–१ निस्कोटका वडा अध्यक्ष टंकबहादुर पुन, मालिका–६ का पथबहादुर रोका र वडा नं ७ का टक बहादुर पुनले प्रभावित क्षेत्रमा देखिएका समस्याहरूलाई प्राथमिकता दिन अनुरोध गर्नुभएको थियो ।

सुरुङमा विष्फोट गर्दा आसपासमा हुने असर, खानेपानीको मुहान सुक्न सक्ने अवस्थलाई ध्यान दिन स्थानीय समुदायले आयोजना पक्षको ध्यानार्कषण गराएका थिए । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले तोकिएको समयमा आयोजना सम्पन्न हुदाँ लगानीकर्तालाई फाइदा हुने बताउनुभयो ।

प्रतिमेगावाट १७ करोड लागतमा सम्पन्न गर्ने प्राविधिक मुल्याङ्कन निकै सस्तो र लगानीकर्तालाई समेत सहज हुने अन्य बक्ताहरूको भनाई थियो । सार्वजनिक सुनुवाईमा बोल्ने प्रभावित क्षेत्रका बासिन्दाले समुदायलाई क्षती नहुने गरी आयोजना अगाडी बढाउन कुनै अवरोध नहुने बताएका थिए ।

सार्वजनिक सुनुवाईमा परामर्शदाता संस्था इन्भारोमेन्ट पार्टनर्स प्रालिका प्रमुख शंकर बस्यालले आयोजनाको सम्रग अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । धौलागिरी कालिकाका सञ्चालक तथा अध्यक्ष विनोद कुँवरले मजदुर, उपकरण र निर्माण सामग्रीको कुनै समस्या नहुने गरी अबको दुई बर्षमा परीक्षण उत्पादन गर्ने बताउनुभयो ।

सोही अवसरमा आयोजनाका कारण हुने समस्यातर्फ ध्यान दिएर अगाडी बढ्ने बताउनुभयो । सार्वजनिक सुनुवाईमा आयोजनाका प्रबन्ध निर्देशक हर्कमान मगर, सञ्चालक समिति सदस्य चित्रबहादुर पुनले आयोजना क्षेत्रमा हाल भइरहेको प्रगतिका बारेमा जानकारी गराउनुभएको थियो ।

दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको मालिका–५ देवीस्थान,७ बिमको सिमानामा पर्ने इल्पुमा बाँध रहने आयोजनाको सुरुङमार्गबाट ल्याइने पानीलाई दुखुबेँसीमा रहने आउटलेटबाट बालौटेमा निर्माण हुने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने तयारी छ । पाँच अर्ब १५ करोड कूल लागत अनुमान गरिएको आयोजनामा ३० प्रतिशत प्रवद्र्धक र सर्वसाधारणको सेयर लगानी रहनेछ ।

३० प्रतिशत संस्थापक र साधारण शेयर तथा ७० प्रतिशत वित्तीय संस्थाको लगानीमा आयोजना निर्माण भइरहेको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ विमदेखि रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत केन्द्रीय प्रसारणमा जोडिनेछ ।

हिउँदको चार महिना प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षायामको आठ महिना प्रतियुनिट चार रुपैयाँ ८० पैसामा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री हुने सम्झौता भएको छ ।

Leave a Reply