म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुना बञ्चरेडाँडामा पहिलोपटक विश्वमै दुर्लभ मानिएको जंगली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ। पैदलमार्गमा हिँडिरहेको अवस्थामा गाउँपालिकाका कर्मचारी तेजेन्द्र मगरले लालीगुराँसको रूखमा रमाइरहेको अवस्थामा रेडपाण्डाको तस्बिर र भिडियो खिचेका थिए। समुद्री सतहदेखि तीन हजार एक सय मिटर उचाइमा भेटिएको रेडपाण्डा बच्चाजस्तै देखिन्छ।

पर्यटकीय स्थल मालिका पुगेर फर्कने क्रममा उक्त स्थानमा रेडपाण्डा देखिएको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए। ‘यो ठाउँमा पहिलोपटक भेटियो, चोरीसिकारीबाट जोगाउन समुदायस्तरबाटै अभियान सञ्चालनको योजना बनाउँछौं’, अध्यक्ष पुनले भने। उनका अनुसार स्थानीयले रेडपाण्डाको संख्या धेरै देखेको बताउने गरेको बताए।

लजालु स्वभाव रहेको रेडपाण्डाले सर्वसाधारण देखेर झनै रमाइरहेको दृश्य देखिएको बताउँदै वनजंगलमा आवतजावत गर्दा यसको संरक्षणमा ध्यान दिन अध्यक्ष पुनले अनुरोध गरेका छन्। यसअगाडि लुलाङको जलजला र गुर्जाको जंगलमा समेत रमाइरहेको अवस्थामा स्थानीयले रेडपाण्डा भेटेका थिए।

करिब एक दशकअगाडि अनुसन्धानकर्ता बद्री पाण्डेको टोलीले गरेको अध्ययनमा धवलागिरि गाउँपालिकाका लुलाङको मरेनी सामुदायिक वन, ढोरपाटन सिकार आरक्षको जलजला, गुर्जा र मुदीका जंगलमा हलुका रातो, सेतो र कालो रङका रेडपाण्डाको वासस्थान फेला पारे पनि प्रत्यक्ष देखेका थिएनन्।

रातको समयमा रूखको टोड्कामा बास लिने र दिउँसो रूखका हाँगामा बसी आराम गर्ने, भोक लागेका बेला निगालोका टुसालगायत झारपात खान भुइँमा झर्ने गरेको रेडपाण्डाको तस्बिर खिचेर सामाजिक सञ्जालमा हाल्दासमेत विश्व वन्यजन्तु कोष, रेडपाण्डा नेटवर्क लगायत रेडपाण्डा संरक्षणमा सक्रिय संघसंस्था बेखबर छन्। रेडपाण्डा जोगाउन वडास्तरमा संरक्षण समिति गठन, जनचेतनामूलक कार्यक्रम र वासस्थान आसपासका क्षेत्रमा आवतजावतमा निगरानी बढाउन आवश्यक छ।

नेपालमा २६ वटा संरक्षित वन्यजन्तुमध्ये अति दुर्लभ मानिने रेडपाण्डा पाइने २३ जिल्लामध्ये म्याग्दीसमेत उपयुक्त वासस्थानका रूपमा चिनिन्छ। यस क्षेत्रमा रेडपाण्डाको जीवनशैली र जीवनचक्रका विषयमा अध्ययन गर्नसमेत अनुसन्धानकर्तालाई आकर्षित गर्न सकिने भएकाले संरक्षणमा ध्यान दिनुपर्ने सरोकारवालाको भनाइ छ। रेडपाण्डाले आहारका रूपमा प्रयोग गर्ने निगालो र अन्य आहारा जोगाइदिनुपर्छ।

रेडपाण्डालाई दुर्लभ वन्यजन्तुको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) ले अति संकटापन्न वन्यजन्तुको अनुसूची– १ मा राखेको छ भने विश्व संरक्षण संघ आईयुसीएनको समेत संवेदनशील सूचीमा छ। रेडपाण्डालाई सरकारले संरक्षित जीवको सूचीमा राखेको छ। म्याग्दीका जंगलमा पोथी र भाले रेडपाण्डा कति छन् भन्ने आधिकारिक तथ्यांक अहिलेसम्म पाइएको छैन।

म्याग्दीमा रेडपाण्डा संरक्षणका लागि छुट्टै कार्यक्रम भने छैन। डिभिजन वन कार्यालयमा वन्यजन्तुको संरक्षण तथा व्यवस्थापन कार्यक्रममार्फत विगतमा समुदायस्तरमा रेडपाण्डाको महत्व, संरक्षणको आवश्यकता र विश्वभर रेडपाण्डा पाइने क्षेत्रका बारेमा सामान्य सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी छैन। मान्छे देखेर अन्य जंगली जनावरजस्तै भाग्ने र आक्रमण गर्न नआउने भएकाले रेडपाण्डा सिकारीको निशानामा पर्ने गरेको छ। समुद्री सतहदेखि दुई हजारदेखि चार हजार मिटरसम्मको भूभाग मुख्य रेडपाण्डाको वासस्थल हो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको हो। रेडपाण्डा संरक्षण गर्न सरकारले सन् २०१९ देखि २०२३ सम्म पर्यटनसँग जोडेर विशेष संरक्षण गर्ने नीति लिएको छ। रेडपाण्डाको चोरी–सिकारमा संलग्न व्यक्तिलाई एक वर्षदेखि १० वर्ष कैद र एक लाखदेखि पाँच लाख रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।

Leave a Reply