म्याग्दीको सदरमुकाम बेनीमा पुस महिनाको अन्तिम सातादेखि हुने आठौं म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेलाको मुख्य प्रायोजक प्रभु बैंक लिमिटेड भएको छ । सोमबार म्याग्दी उद्योग वाणिज्य संघ र प्रभु बैंक बिच पुस २८ देखि माघ ८ गते सम्म १० दिनसम्म हुने महोत्सवको मुख्य प्रायोजक बन्नेको हो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ र प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचनले मुख्य प्रायोजकको सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

म्याग्दीको ६ वटै स्थानीय तहमा शाखा रहेको प्रभु बैंकले म्याग्दी महोत्सवमा मुख्य प्रायोजकको रुपमा रहेर सहकार्य गर्न पाउदा खुसी लागेको कार्यकारी अधिकृत शेरचनको भनाई थियो ।

उक्त कार्यक्रममा म्याग्दी उवासंघका प्रथम उपाध्यक्ष राजेश शाक्य, द्धितिय उपाध्यक्ष अमृत बानियाँ, महासचिव नारायण घर्ती क्षेत्री, कोषाध्यक्ष सुमन श्रेष्ठको उपस्थिति रहेको थियो ।

उद्योग वाणिज्य संघ म्याग्दीले महोत्सवका प्रायोजक सहित भेटघाटका लाागि काठमाण्डौमा सोमबार अर्थमन्त्री विष्णु पौडेल, विभिन्न बैंक तथा वित्तिय संस्थाका प्रमुखसँग भेटघाट गरेको महासचिव घर्ती क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार सरकारी तथा निजी क्षेत्रमा भेटघाट सहित पर्यटन क्षेत्रसँग सम्बन्धित संघसंस्थासँग समेत म्याग्दीको पर्यटनका क्षेत्रमा सघाउन अनुरोध गरिने छ ।

महोत्सवको अवसरमा एक करोड ३४ लाख २९ हजार आम्दानी र एक करोड २९ लाख १८ हजार नौ सय १४ रुपैयाँ खर्च भएर म्याग्दी उद्योग बाणिज्य संघलाई पाँच लाख १० हजार ८६ रुपैयाँ बचत गर्ने लक्ष्य लिएको छ ।

Leave a Reply