म्याग्दीको बेनी नगरपालिका-१, रत्नेचौरको लामागरामा सोमबार पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ तथा आङ खस्ने समस्याको निःशुल्क जाँच शिविर अर्थात् भिआईए क्याम्प सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजना र बेनी अस्पताल म्याग्दीको सहजीकरणमा शिविर सञ्चालन गरिएको हो ।

सोमबार दिनभर चलेको शिविरमा बेनी नगरपालिका–१ नम्बर वडाको रत्नेचौर, लामागरा, २ नम्बर वडाको खबरा, ७ र ८ नम्बर वडा बेनीबजार तथा पर्वतको जलजला गाउँपालिका–७, मिलनचोक क्षेत्रबाट महिलाहरु सेवा लिन पुगेका थिए । कुल १ सयजना महिलाहरुको पाठेघरको मुखमा क्यान्सरको सम्भावना भए, नभएको बारेमा गरिएको परीक्षणमा एक जनामा शङ्कास्पद देखिएकाले थप उपचारको लागि पोखरा रिफर गरिएको छ ।

यसैगरी शिविरको क्रममा पाठेघरको मुखमा मासु पलाएको ५ जना महिला भेटिएको, ४ जना महिलाहरुको पाठेघरमा रिङपेसरी राखिएको र ५ जनामा पाठेघरमा भएको संक्रमणको उपचार गरिएको बेनी नगरपालिकाको सिनियर अनमी लिलाकुमारी गौतमले जानकारी दिनुभयो ।

शिविरमा बेनी अस्पतालका स्त्रीरोग विशेषज्ञ डाक्टर रवि गुरुङ, एमडिजीपी डा. विजयकुमार रानाभाट, दक्ष स्वास्थ्यकर्मीहरु डेकमाया केसी, करुणा थापा र सुमित्रा थजालीसहितको टोलीले शिविरमा सेवा लिन आएका महिलाहरुको उपचार गर्नुका साथै परामर्श सेवा दिएको थियो । शिविरको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले महिलामा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ क्याम्प सञ्चालन गर्नको लागि यसवर्ष तीनलाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

उहाँले ग्रामीण भेगका महिलाहरुलाई लक्षित गरेर घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध गराउने गरी आवश्यक बजेट विनियोजन गरिएको बताउँदै यसपालि पनि लामागरासहित तीन ठाउँमा शिविर सञ्चालन गरिने बताउनुभयो । शिविरलाई आगामी दिनमा पनि निरन्तरता दिइने उहाँको भनाइ छ । नगर उपप्रमुख लामिछानेले शिविरमा पाठेघरको उपचार गर्न आएका महिलाहरुलाई महिनावारीको समयमा स्वास्थ्यको सुरक्षा, सरसफाइ र खानपानमा विशेष ध्यान दिन आग्रह समेत गर्नुभएको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा आयोजित शिविरको सन्दर्भमा उहाँले अभियान चल्दै गर्दा अहिले पनि समुदायमा महिला, किशोरीहरु र बालिकामाथि विभिन्न प्रकृतिका हिंसाहरु भैरहेको हुँदा सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो ।

नगर क्षेत्रका महिलाहरुलाई आर्थिक रुपमा सशक्त र सक्षम बनाउनको लागि बेनी नगरपालिकाबाट ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन गरिएको बताउँदै उपप्रमुख लामिछानेले कार्यक्रममार्फत महिलाको आयआर्जनमा जोड दिइएको बताउनुभयो । कार्यक्रममा बोल्दै बेनी अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. रवि गुरुङले महिला र पुरुष दुवै जनाले स्वास्थ्यलाई विशेष रुपमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको समापन गर्दै बेनी नगरपालिका १ नम्बर वडाका वडा अध्यक्ष टेकबहादुर थापाले स्वास्थ्य सेवाबाट पछाडि परेका लामागराका स्थानीयलाई लक्षित गरेर महिलालक्षित स्वास्थ्य शिविर आयोजना गरिएको बताउनुभयो । कार्यक्रम वडाध्यक्ष थापाको अध्यक्षता, लामागरा गाउँघर क्लिनीक व्यवस्थापन समितिका उपाध्यक्ष कमल थापाको स्वागत र रत्नेचौर स्वास्थ्यचौकी प्रमुख होमनाथ गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply