म्याग्दीको सदरमुकाम बेनीमा सोमबार महिला सशक्तिकरणमा सहकारीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने मूल नारासहित नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म सञ्चालित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत महिला सशक्तिकरणमा सहकारीको भूमिका विषयक अन्तत्र्रिmया र छलफल गरिएको हो ।
दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आयोजित अन्तत्र्रिmया कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले १६ दिने अभियान मनाउँदै गर्दा अहिले पनि समाजमा महिला र बालिकामाथि हिंसा भैरहेकाले सचेत बन्नुपर्ने बताउनुभयो । उहाँले समुदायस्तरमा लैङ्गिक हिंसाको विरुद्धमा सचेतना फैलाउनको लागि नगरपालिकामार्फत आवश्यक पहल भैरहेको बताउँदै महिला दिदीबहिनीहरुलाई आयआर्जनमा जोडेर आत्मनिर्भर बनाउन ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
कार्यक्रममा दिदीबहिनी सहकारीको पूर्व अध्यक्ष समेत रहनुभएकी महिला अधिकारकर्मी एवं सामाजिक अभियन्ता जमुना आचार्यले महिला सशक्तिकरणमा सहकारीको भूमिका, लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान, घरेलु तथा सामाजिक हिंसा न्यूनीकरण, आयआर्जन तथा आत्मनिर्भर लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार एवं बेनी नगरपालिकाको पूर्व नगर उपप्रमुख सन्जु बरुवाल, लायन्स क्लब अफ बेनी महारानीका अध्यक्ष चन्द्रा घले गुरुङ र लोकदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रमिला जोशी श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
अन्तत्र्रिmया कार्यक्रमको अवसरमा दिदीबहिनी सहकारीले विगतदेखि नै सञ्चालन गर्दै आइरहेको मुठ्ठीदान अभियानमार्फत पर्वतको जलजला गाउँपालिका–७, निवासी पाठेघरको क्यान्सरपीडित गंगा परियार, जलजला–३ का सनम विक र म्याग्दीको बेनी नगरपालिका–२, बगरफाँट निवासी गंगा थापालाई क्रमशः नगद पाँचहजार पाँचसय ५५ रुपैयाँको दरले आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो । यस सहकारीमार्फत सञ्चालित मुठ्ठीदान अभियान सहकारीको क्षेत्रमा निकै लोकप्रिय मानिन्छ ।
कार्यक्रममा लायन्स क्लबका पदाधिकारी, महिला उद्यमी तथा जनप्रतिनिधिहरु, महिला सहकारीका सञ्चालक तथा शेयर सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । सहकारीका कार्यवाहक अध्यक्ष सुगम श्रेष्ठको अध्यक्षता र सचिव जगतकुमारी खत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सञ्चालक समिति सदस्य एवं शिक्षा उपसमिति संयोजक अञ्जना हमाल केसीले स्वागत गर्नुभएको थियो ।