म्याग्दीको मंगला गाउँपालिका-१,भर्जुलामा मंगला शिक्षा क्याम्पसको मुद्दती÷अक्षयकोष तथा आर्थिक सङ्कलन अभियानमा स्वर्गीय आफन्तको सम्झनामा २ लाखभन्दा बढी आर्थिक सहयोग संकलन गरिएको छ ।
क्याम्पसको ‘एक घर एक दान’ अभियानमा गाउँमा आयोजित सहयोग अभियानमा स्वर्गीय बाजे–बजै चतुरसिङ र लालमती शेरपुञ्जाको स्मृतिमा हाल अमेरिकामा रहेका नाति सुरेश र नातिनी बुहारी भगवती शेरपुञ्जाबाट १ लाख ५ सय रुपैयाँ सहयोग गर्नुभएको छ ।
सोही अवसरमा स्वर्गीय मनपुर र मंगली शेरपुञ्जाको स्मृतिमा माइली छोरी भीमा र ज्वाई सुरेश बुढाथोकीबाट ५० हजार र भर्जुलाकै बोमबहादुर शेरपुञ्जाले १० हजार गरी २ लाख ३ हजार ४१० आर्थिक सहयोग भएको क्याम्पस प्रमुख पितमबहादुर खत्रीले बताउनुभयो ।
सहयोग हस्तान्तरणमा मंगला गाउँपालिका अध्यक्ष एवम् क्याम्पसका सम्मानार्थ संरक्षक सतप्रसाद रोका, क्याम्पस सञ्चालक समितिकी उपाध्यक्ष एवम् आर्थिक संकलन उपसमिति संयोजक यशुदा रोका, सञ्चालक समिति सदस्य नरसिङ्घ बहादुर केसी लगायतको उपस्थिीति रहेको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रममा आर्थिक संकलन उपसमिति संयोजक रोकाले पहिलो चरणमा गाउँपालिकाभित्रका ३७ सय घरधुरीबाट स्वदेश तथा विदेशमा रहेकालाई प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट क्याम्पसको शैक्षिक कोषमा सहयोग जुटाउने बताउनुभयो ।
समुदायबाटै प्राप्त सहयोगबाट सञ्चालित क्याम्पसले यो अभियानमार्फत पूर्व कालिन प्राध्यापकलाई तलब सुविधा, क्यूएए प्रक्रियाका पूर्वाधारहरू तयार गर्न, गरिब तथा विपन्न वर्गका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न, क्याम्पस र समुदायको सम्बन्ध बलियो बनाउन घरदैलोमा पुगेको टोलीले क्याम्पसका हालसम्मको गतिविधिका बारेमा समेत जानकारी गराउने गरेको छ ।
क्याम्पसले १२ लाख सहयोग गर्नेलाई संरक्षक, ७ लाख सहयोग गर्नेलाई सम्मानार्थ संरक्षक, १ लाख सहयोग गर्नेलाई आजीवन सदस्य, ५० हजार सहयोग गर्नेलाई वरिष्ठ सदस्य र ५० हजारभन्दा कम सहयोग गर्नेलाई क्याम्पस सभा सदस्य प्रदान गरेको सम्मानार्थ संरक्षक रोकाले बताउनुभयो ।
पश्चिम म्याग्दीमा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सदरमुकाम वा जिल्लाबाहिर थप अध्ययनका लागि जानुपर्ने अवस्थाको अन्त्य गर्न क्याम्पसको पूर्वाधार अभियानमार्फत संकलित आर्थिकबाट बाबियाचौरकै लाम्पाटामा ३३ रोपनी जग्गासमेत खरिद गरी क्याम्पसको भवन, प्रशासनिक भवन, छात्रावास सहितको संरचना समेत बनेको छ।
हाल शिक्षा शास्त्र सङ्कायमा स्नातक तहमा २४० जना विद्यार्थी अध्ययनरत छन्। सहरमा पढ्न जान खर्च नभएर छाडेका धेरै छोरी बुहारीलाई वरदान साबित भएको क्याम्पस समुदायको जगमै स्थापित भएको क्याम्पसले विश्वविद्यालयले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए) प्रमाणपत्र प्राप्तिको अभियानमा समेत जुटेको छ।