म्याग्दीको रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडकमा सडकको स्तरोन्नति तथा कालोपत्र गरिसक्ने ठेक्का अवधीको चार महिना मात्र बाँकी रहँदासम्म कछुवाको गतिमा काम भइरहेको छ ।
सडक स्तरोन्नति तथा कालोपत्रका लागि विसं २०७९ भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभी र सडक डिभिजन कार्यालय बागलुङबीच भ्याटबाहेक रु २३ करोड ३२ लाखमा ३० महिनामा निर्माण सक्नेगरी ठेक्का सम्झौता भएको थियो । आगामी चैतमा उक्त ठेक्का सम्झौताको समयावधि सकिँदै छ ।
विसं २०५६ मा ट्याक खोलिएको बेनी नगरपालिका–१, २ र ३ का बासिन्दाले प्रयोग गर्ने उक्त सडक ‘एक निर्वाचन क्षेत्र एक सडक’ आयोजनाअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले स्तरोन्नति तथा कालोपत्रको काम थालेको हो ।
अहिले सडक चक्लाउने, पर्खाल लगाउने, नाली बनाउनेलगायत काम भैरहेको र दैनिक ४० जनाले काम गरिरहेका आयोजनाका इन्जिनियर अरुण शेढाइँले जानकारी दिनुभयो । सडकलाई नौ मिटर फराकिलो बनाएर सात किलोमिटर डिबिएसडी प्रविधिको कालोपत्र र दुई किमी आरसिसी ढलान गर्ने उहाँको भनाइ थियो ।
“अहिलेसम्म ७० प्रतिशत काम सकिएको छ । ठेक्का अवधी सकिन चार महिना मात्र बाँकी छ । सयममा नै बजेट प्राप्त भए पुस महिनामा ग्राभेल गर्ने,माघ महिनामा बेस विछ्याउने र फागुनदेखि कालोपत्रेको काम गर्ने योजना हो” सेढाइँले भन्नुभयो ।
घुम्ती तथा मोड सुधार र ग्रेड मिलाउने काम पनि भैरहेको सेढाईंले बताउनुभयो । सङ्घीय सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक÷एक वटा रणनीतिक महत्वको सडक आयोजना सञ्चालन गर्न रु ४०÷४० करोड विनियोजन गरेको थियो ।
भकुण्डे र उपल्लाचौर क्षेत्रमा डोजरले सडक फराकिलो बनाउने र मजदुरबाट पर्खाल, नाली निर्माण गर्ने काम सकिएको छ । पहिलो चरणमा उपल्लाचौरदेखि नौ किलोमिटर दूरीमा पर्ने बेनी नगरपालिका–३ तोराखेतसम्म कालोपत्र गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
सङ्घीय सरकारकै बजेटबाट सडकको प्रवेशबिन्दुमा पर्ने रत्नेचौरदेखि उपल्लाचौरसम्म एक किमी तीन सय मिटर कालोपत्र र तीन सय मिटर सडक ढलान गरिएको थियो । यसैगरी भकिम्ली–बरङ्जा–अर्मनको किमचौर हुँदै ताराखोलासम्म मार्ग खोलिसकिएको छ ।