म्याग्दीको मंगला गाउँपालिका-२, लाम्पाटास्थित मंगला शिक्षा क्याम्पसले घरदैलोमा पुगेर क्याम्पसको शैक्षिक तथा भौतिक प्रगति सुनाउँदै अक्षय कोषको अभियान सञ्चालन गरिरहेको छ ।
म्याग्दीको सदरमुकाम बेनीबजार बाहिर रहेको एकमात्रै क्याम्पस मंगला शिक्षा क्याम्पसले गरिब तथा विपन्न र जेहेन्दा विद्यार्थीहरुलाई पढाइमा सहयोग गर्ने उद्देश्यले स्थापना गर्न लागिएको अक्षयकोषमा हालसम्म ५० लाखभन्दा बढी जुटेको छ।
क्याम्पसले यसबर्ष तिहारको अवसरमा देउसीभैलोमार्फत ४० लाखभन्दा बढी संकलन गरेको छ भने अहिले टोलबस्तीमा पुगेर सहयोग जुटाइरहेको क्याम्पस प्रमुख पितमबहादुर खत्रीले जानकारी दिनुभयो ।
गाउँपालिकाभित्रका ३७ सय घरधुरीबाट स्वदेश तथा विदेशमा रहेकालाई प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट क्याम्पसको शैक्षिक कोषमा सहयोग जुटाउनमंगला गाउँपालिका अध्यक्ष एवम् क्याम्पसका सम्मानार्थ संरक्षक सतप्रसाद रोका, सञ्चालक समिति अध्यक्ष यामबहादुर थापा, क्याम्पस सञ्चालक समितिकी उपाध्यक्ष एवम् आर्थिक संकलन उपसमिति संयोजक यशुदा रोका सहितको टोली घरदैलामै पुगेर सहयोग अभियान सञ्चालन गरिएको छ ।
‘गाउँको क्याम्पसलाई सहयोग गर्ने सबैको चाहना छ, हामी समुदायमै पुगेका छौ, विदेशमा बस्नेले पनि दिइरहनुभएको छ’ अध्यक्ष थापाले भन्नुभयो ।
अभियानमा पछिल्लो समय मंगला गाउँपालिका–१,भर्जुला हाल अमेरिकामा रहनुभएका सुरेश शेरपुञ्जा र श्रीमती भगवती शेरपुञ्जाबाट स्वर्गीय बाजे–बजै चतुरसिङ र लालमती शेरपुञ्जाको स्मृतिमा रु एक लाख पाँच सय रुपैयाँ, स्वर्गीय बुबाआमा मनपुर र मंगली शेरपुञ्जाको स्मृतिमा माइली छोरी भीमा र ज्वाई सुरेश बुढाथोकीबाट रु ५० हजार र भर्जुलाकै बोमबहादुर शेरपुञ्जाले रु १० हजार गरी दुई लाख तीन हजार चारसय १० आर्थिक सहयोग प्राप्त भएको छ ।
यो अभियानमार्फत १ करोड अक्षय कोष स्थापना गर्ने लक्ष्य रहेको छ । क्याम्पसले १२ लाख सहयोग गर्नेलाई संरक्षक, ७ लाख सहयोग गर्नेलाई सम्मानार्थ संरक्षक, १ लाख सहयोग गर्नेलाई आजीवन सदस्य, ५० हजार सहयोग गर्नेलाई वरिष्ठ सदस्य र ५० हजारभन्दा कम सहयोग गर्नेलाई क्याम्पस सभा सदस्य प्रदान गर्नेछ ।
पश्चिम म्याग्दीमा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सदरमुकाम वा जिल्लाबाहिर थप अध्ययनका लागि जानुपर्ने अवस्थाको अन्त्य गर्न क्याम्पसको पूर्वाधार अभियानमार्फत संकलित आर्थिकबाट बाबियाचौरकै लाम्पाटामा ३३ रोपनी जग्गासमेत खरिद गरी क्याम्पसको भवन, प्रशासनिक भवन, छात्रावास सहितको संरचना समेत बनेको छ।
हाल शिक्षा शास्त्र सङ्कायमा स्नातक तहमा २४० जना विद्यार्थी अध्ययनरत छन्। सहरमा पढ्न जान खर्च नभएर छाडेका धेरै छोरी बुहारीलाई वरदान साबित भएको क्याम्पस समुदायको जगमै स्थापित भएको क्याम्पसले विश्वविद्यालयले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए) प्रमाणपत्र प्राप्तिको अभियानमा समेत जुटेको छ।