म्याग्दीको रघुगङ्गा गाउँपालिका-५ झिँ र वडा नम्बर –६ पाखापानीमा मङगलवार नेकपा (माओवादी केन्द्र)को वडा सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनबाट झिँमा भिम बिकको अध्यक्षतामा १५ सदस्यीय र वडा न. ६ पाखापानीमा प्रकाश पाइजाको अध्यक्षतामा २३ सदस्यीय वडा कमिटि गठन भएको छ ।
नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सेरबहादुर केसी, गण्डकी प्रदेश सांसद हरिबहादुर भण्डारी, माओवादीका रघुगंगा गाउँपालिका ईञ्चार्ज तथा प्रदेश सदस्य रिम कटुवालको उपस्थितिमा सम्मेलन सम्पन्न भएको थियो ।
कार्यक्रममा माओवादीका युवा नेता समेत रहेका प्रदेश सांसद भण्डारीले चुनावमा गरेको प्रतिवद्धता अनुसार बेनी–पाखापानी सडकको घतान खण्डमा कालोपत्र सहित स्तरोन्नति गर्न प्रदेश सरकार मार्फत आयोजना शुरु भएको जानकारी दिनुभयो ।
“गत वर्ष म्याग्दीबाट निर्वाचित प्रदेश सांसद रेशम जुग्जाली भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्री हुँदा बजेट बिनियोजन गरेर बेनी पाखापानी सडक आयोजनाका लागि बहुबर्षीय ठेक्काको प्रक्रीया अघि बढाएका थियौ ।
अहिले कार्यान्वयन शुरु भएको छ,” उहाँले भन्नुभयो “बेनी पाखापानी सडक आयोजनालाई पूूर्णता दिने यस क्षेत्रका नागरिकको समस्या समाधानका लागि हामीले अगुवाई र पहल गरेका छौ ।”
नेता केसी र कटुुवालले नेपालको राजनीतिक परिवर्तनका लागि दश वर्ष जनयुद्ध गरेको माओवादी नेतृत्वको सरकारले साना किसानको ऋण मिनाह, लोडसेडिङको अन्त्य, मध्य पहाडी र उत्तर दक्षिण कोरिडोर निर्माण, मिटरब्याज पिडितहरुको न्यायका लागि कानुन निर्माण गरेको बताउनुभयो ।
नक्कली भुटानी शरणार्थी, सहकारी ठगी, ललिता निवास, गिरिबन्धु टि स्टेट, यति, ओम्नी, वाइडबडी लगायत भ्रष्ट्राचारका मुद्दामा संलग्नलाई कारबाहीका लागि कानुनी दायरामा ल्याउन खोज्दा उनिहरुलाई जोगाउन काँग्रेस र एमाले मिलेर सरकार बनाएका नेताहरुले बताउनुभयो ।
माओवादीले सुशासन, सामाजिक न्याय र सम्बृद्धिको मुद्दा नछोड्ने र जनताको समस्या समाधानका लागि सधै साथमा रहने प्रतिवद्धता जनाउनुभयो ।