एनपिएलः कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा काठमाडौँ, ४ पुसः कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायर खेलमा जितका लागि कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदै । तस्बिरः प्रदीपराज वन्त÷रासस

नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुने भएको छ। दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर उपाधि नजिक पुगेको हो।

पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएर जनकपुरले दोस्रो क्वालिफायर खेलेको हो। कर्णालीले भने इलिमिनेटरमा चितवन राइनोजलाई हराएको थियो। फाइनल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार हुनेछ।

कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो। उसको जितमा जेम्स निसामले १७ बलमा सर्वाधिक ४५ रन बनाए। यस क्रममा उनले ५ छक्का र २ चाैका प्रहार गरे। हर्स ठाकरले २६ बलमा १७ रन जोडे। आकाश त्रिपाठीले १३ रन बनाए। बाकी ब्याटरले दोहोरो अकंको रन बनाउन सकेनन्।

यसअघि पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा ९ विकेट गुमाएर ११८ रनको योगफल तयार पारेको थियो। कर्णालीका लागि गुल्शन झाले २५ र देव खनालले २४ रन जोडे।

जनकपुरका लागि ललित राजवंशी, जेम्स निसाम र मोहमद मोहसिनले समान २ तथा हर्स ठाकर, र शेर मल्लले समान एक विकेट लिए।

Leave a Reply