म्याग्दीको बेनी नगरपालिकाले सोह्रौँ नगरसभाको अवसरमा उत्कृष्ट कर्मचार, शिक्षक, विद्यालय, टोल विकास संस्था र करदातालाई सम्मान गरेको छ । विहिवार आयोजित नगरसभामा नगरप्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा लगायतले सम्मान गर्नुभएको हो ।
नगरपालिकाले शिक्षा अधिकृत कमल प्रसाद ढकाल, सहायक पाँचौ चन्द्रदत्त शर्मा, अशिष्टेन्ट सब इन्जिनियर सुनिल श्रेष्ठ, भकिम्ली स्वास्थ्य चौकीका सिनियर अनमी तारा बुढाथोकी, बेनी नगरपालिका– ७ का कार्यालय सहयोगी प्रकाश पुनलाई उत्कृष्ट कर्मचारीको रुपमा नगद रु ५ हजार सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।
त्यसैगरि प्रकाश माविका प्रअ लेखबहादुर हमाललाई उत्कृष्ट शिक्षक र राष्ट्रिय मावि नेप्टेचौरकी प्रअ तारादेवी चोखाललाई उत्कृष्ट महिला शिक्षकको रुपमा जनही नगद रु ५ हजारको साथमा दोसल्ला र प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो ।
त्यसैगरि उत्कृष्ट जिपिए ल्याउने विद्यालयहरुमध्ये सामुदायिकतर्फ प्रकाश मावि र संस्थागततर्फ लिटिल गार्डेन एकेडेमी, बेनी नगरपालिकामा सबैभन्दा बढी कर तिर्ने बेनी निवासी मिठु कुमारी श्रेष्ठ र उत्कृष्ट टोल विकास संस्थाको रुपमा विरेन्द्रचोक टोल विकास संस्थालार्य प्रसंसापत्रद्धारा सम्मान गरिएको थियो ।
नगरप्रमुख केसीले नगरपालिका भित्रका हरेक क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्नेलाई प्रोत्साहन सहितका कार्यक्रमहरुलाई निरन्तरता दिने बताउनु्भयो ।