---Advertisement---

प्रभुचेला धुरीमा १ सय ८० जनाले सामूहिक ध्यान

On: December 21, 2024 11:27 PM
Follow Us:

म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा शनिबार १ सय ८० जना योगीहरूले सामूहिक ध्यान गरी प्रथम विश्व ध्यान दिवस मनाउनुभएको छ । संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ लाई विश्व ध्यान दिवस घोषणा गरेसँगै म्याग्दीको सदरमुकाम बेनी सहित विभिन्न क्षेत्रबाट परापूर्वकालमा ऋषिमुनिहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेला धुरीमा पुगेर ध्यान दिवस मनाइएको हो ।

दिवसको मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्घाटन गदैं प्रभुचेलालाई तनाव व्यवस्थापन, मानसिक र शारीरिक स्वास्थ्यका लागि उपयोगी भएकाले गाउँपालिकाले समेत मेडिटेसन सेन्टर सहितको पूर्वाधार बनाउन आवश्यक सहयोग तथा पहल गरिरहेको बताउनुभयो ।

उहाँले स्थानीय, प्रदेश र संघीय सरकारसँगै स्वदेश तथा विदेशमा रहेका बिमबासीमार्फत यस क्षेत्रको विकासमा थप सक्रिय हुने बताउनुभयो ।सोही अवसरमा बिमका वडा अध्यक्ष टकलाल पुन, योगिनी ओमकुमारी थापा,पत्रकार गोपाल आचार्य, कर्ण जुग्जाली, कलिप्रसाद जुग्जाली, दिलमाया रोकाले यस क्षेत्रको विकासका लागि ढिलाइ गर्न नहुनेमा जोड दिनुभएको थियो । सोही अवसरमा योगिनी सिता घलेको नेतृत्वमा योग नृत्य प्रस्तुत गरिएको थियो ।

पहिलोपटक प्रभु्चेला धुरीमा ठूलो संख्यामा पुगेको टोलीलाई प्रभुुचेला ध्यान केन्द्र व्यवस्थापन समितिका अध्यक्ष टीकाबहादुर जुग्जाली (नवीन) ले हालसम्मको संरचना सहित निर्माणधिन अवस्थामा रहेका पूर्वाधारका साथै स्वर्गद्वारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले विसं १९७० देखि १९७५ सम्म तपस्या गरेको स्थान, कपिलानन्द स्वामीले तपस्या गर्ने क्रममा बनाएको कुटी, साधना स्थल र हवन कुण्डको भग्नावशेष सहितको अवलोकन गराउनुभएको थियो ।

तनाव, चिन्ता, आक्रोशजस्ता जस्ता समस्याको समाधानका लागि प्रभुचेला धुरीमा पुग्ने वातावरण बनाउने अध्यक्ष जुग्जालीको भनाई थियो । विश्व ध्यान दिवसको कार्यक्रमको सञ्चालन सचिव सुरमन गर्बुजाले गर्नुभएको थियो । प्रभुचेला धुरीमा सरकारी निकायसँगै स्थानीयबासीले समेत मन्दिर सहित विभिन्न संरचना बनाएका छन् । यस क्षेत्र हुदै म्याग्दीको चर्चित मालिकाधुरी मन्दिरसम्म पुग्न सकिन्छ ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।