म्याग्दीको बेनी नगर कार्यपालिकाको प्रवेशद्धारदेखि सोही नगरपालिकाको वडा नं २ ज्यामरुककोटको भकुण्डे जोड्ने बेनी–लभ्लिहिल–भकुण्डे सडक दुई साता बन्द गरेर मर्मतको काम सुरु भएको छ ।
ट्याक खुलेको १७ वर्ष वितिसक्दा पनि राम्रोसँग सडक सुधार नहुँदा स्थानीयको व्यापक असन्तुष्टी थियो । स्थानीय उपभोक्ताहरुको गुनासोलाई मध्यनजर गर्दै गएको शनिवारदेखि पुस ११ गतेसम्म सडक बन्द गरेर मर्मत गर्न थालिएको बेनी नगरपालिका २ का वडाअध्यक्ष याम कार्कीले जानकारी दिनुभयो ।
“यात्रीहरुको जानकारीका लागि हामीले सार्वजनिक सूचना पनि जारी गरेका छौँ, पुस ११ गतेसम्म सडक बन्द गरेर निर्माणको काम हुन्छ” वडाअध्यक्ष कार्कीले भन्नुभयो ।
कार्कीका अनुसार सडकको रोहोटेपानी–फेदीखण्डमा ढलान कार्य सुरु भएको छ । सडक बन्द रहने अबधिभरी बेनीदेखि हाँडेभीर–खबरा–अर्जम हुँदै भकुण्डेको वैकल्पिक सडक प्रयोग गर्न उपभोक्ताहरुलाई आग्रह गरिएको छ ।
२०६५ सालमा ट्याक खुलेको बेनी–लभ्लीहिल–भकुण्डे सडक स्तरोन्नति नहुँदा अहिलेसम्म पनि मोटर साइकल र ट्याक्टर बाहेक अरु सवारी साधनहरु संचालन हुन नसकेका स्थानीय हरिलाल घिमिरेले बताउनुभयो । सवारी साधन संचालन हुनेगरी सडक मर्मत नहुँदा स्थानीयलाई निकै सास्ती भोग्नुपरेको उहाँको भनाइ छ । २०६५ मा ट्रयाक खोल्ने काम भए तापनि बाटोमा सङ्घ, प्रदेश र स्थानीय सरकारको ध्यान नजाँदा जोखिम मोलेर यात्रा गर्नु परेको खबराका स्थानीयवासी चन्द्रवहादुर कार्कीले बताउनुभयो ।
“घरको छेउबाट सडक खुलेको १७ वर्ष भयो,अहिलेसम्म बेनीबाट जीप वा वसमा चढेर गाउँमा आउन पाइएको छैन” जिल्लाकै अगुवा कृषक समेत रहनुभएका कार्कीले भन्नुभयो “ खेतबारीमा फलाएका तरकारी र फलफूल पनि डोकोमा बोकेर विक्री गर्न बजारसम्म लैजानुपर्छ,हामीलाई त सडक हुनु र नहुनुको कुनै अर्थ नै भएन ।”
समय सयममा सामान्य रुपमा सडक मर्मतको काम हुने भए पनि अझैसम्म यातायातका साधनहरु संचालन हुन सक्नेगरी मर्मत हुन नसकेको स्थानीयवासीको गुनासो रहेको छ । वर्षातको समयमा बाढी पहिरो तथा हिलाम्य र हिउँदको समयमा धु्लाम्य भएर पैदल र मोटरसाइकलमा पनि कठिन यात्रा गर्नुपरेको बेनी नगरपालिका २ सानालेखका नारायण शर्माले बताउनुभयो ।
साढे सात किलोमिटर कच्ची उक्त सडकमा जीप,वस लगाएतका यातायातका साधनहरु चल्न सक्ने अवस्था नहुँदा बेनीबाट रत्नेचौर हुँदै साढे १४ किलोमिटरको घुमाउरो बाटो पार गरेर जीप भकुण्डेसम्म पुग्ने गरेका जीप चालक कृष्णबहादुर विकले बताउनुभयो । बाटोको समस्याकै कारण म्याग्दीको ऐतिहासिक,धार्मिक तथा पर्यटकीय स्थल ज्यामरुककोटको खड्गभवानी कोतमा जाने आन्तरिक तथा वाह्य पर्यटकहरु बृद्धि हुन नसकेको र त्यहाँ जाने पर्यटकहरुले पनि सास्ती व्यहोर्नुपरेको स्थानीयको भनाइ रहेको छ ।