---Advertisement---

म्याग्दीका ग्रामीण महिलाको कमाइको माध्यम बन्दै कोदो

On: December 22, 2024 8:26 AM
Follow Us:

म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ६ की हिमा छन्त्यालले यस वर्ष चारमुरी कोदो बेचेर १७ हजार रुपैयाँ आम्दानी गर्नुभयो । छन्त्यालले गत असारमा रु चार हजार खर्च गरेर बाँझो बारीमा कोदो खेती गर्नुभएको थियो ।

वर्षौंदेखि बाँझिएको बारीमा खनजोत, मल र खेतालाका लागि रु असारमा रु चार हजार खर्च गर्नुभएकी छन्त्यालले रु ३० हजार बराबरको सात मुरी कोदो उत्पादन भएको बताउनुभयो ।

उत्पादन भएको कोदोमध्ये चार मुरी विक्री गरेर तीन मुरी घरायसी प्रयोजनका लागि राख्नुभएकी छन्त्यालले बाँझो रहेको आफ्नो सबै बारीमा अर्को वर्षदेखि कोदो खेती गर्ने बताउनुभयो ।

छन्त्याल मात्रै होइन पछिल्लो समय म्याग्दीका कृषकहरु कोदो खेतीतर्फ आकर्षित हुँदै गएका छन् । माग बढेसँगै आम्दानी पनि बृद्धि हुँदै गएपछि ग्रामीण भेगका महिला कृषकहरु कोदो खेतीतर्फ आकर्षित भएका हुन् । राम्रो मूल्य पाउने र उत्पादन गर्न पनि सजिलो भएकाले कोदो खेतीतर्फ आकर्षण बढेको जिल्ला कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

ग्रामीण क्षेत्रका पाखो जमिन कोदो खेतीका लागि निकै उपयुक्त मानिन्छ । कोदोमा मानव स्वास्थ्यको लागि अत्यावश्यक पौष्टिक तत्व भरपुर मात्रामा पाइन्छ । जसकारण बेनी,पोखरा,काठमाडौंलगायतका सहरी क्षेत्रमा कोदोको माग बढेको मंगला गाउँपालिका ४ की गौमती विकले बताउनुभयो ।

कोदो खेती विस्तार र संरक्षणमा सम्बन्धित स्थानीय तहले नै आवश्यक सहयोग र बजारीकरणको प्रवन्ध मिलाउन थालेपछि कोदो खेतीतर्फ आकर्षण बढ्दै गएको कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो ।

गाउँका महिलाहरु कोदो खेतीतर्फ आकर्षित भएपछि स्थानीय तहहरुले पनि कोदो खेतीतर्फ प्रोत्साहित गर्न सहुलियत र अनुदानका विभिन्न कार्यक्रमहरु विस्तार गर्न थालेका छन् । सहरबजारबाट कोदोको माग आउन थालेपछि वर्षौदेखि बाँझो रहेको जग्गामा कोदो खेती विस्तारका लागि किसानलाई सहयोग गर्ने गरेको मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवि घर्ती मगरले बताउनुभयो ।

“कोदो घरेलु मदिरा उत्पादन र सहरबजारमा खानाका लागि प्रयोग हुँदै आएको छ । पछिल्लो समय सहरबजारबाट कोदोको माग अत्यधिक हुन थालेपछि यहाँका किसानहरुले भनेको मूल्य पाएका छन्” उपाध्यक्ष मगरले भन्नुभयो “गाउँपालिकाले पनि कोदो खेतीलाई प्रोत्साहित गरेको छ, कोदोको मदिालाई ब्राण्डिङगरी बजारीकरणका लागि पनि छलफल भइरहेको छ ।”

आफूले उत्पादन गरेको कृषि उपजले बजार पाए पछि यहाँका किसानहरु पनि खुसी भएका मालिका गाउँपालिका वडा नं १ निस्कोटका वडाअध्यक्ष टंकप्रसाद पुनले बताउनुभयो । महिलाहरु आम्दानीसँग जोडिए पछि गाउँको आर्थिक अवस्था पनि सबल बन्दै गएको स्थानीय जनप्रतिनिधिहरुको भनाइ  छ ।

तीन वर्ष अघिसम्म प्रतिपाथी रु ६० मा पनि विक्री नहुने कोदो अहिले रु दुईसय प्रतिपाथी विक्री हुन थालेको किसान लक्ष्मी पुनले बताउनुभयो । प्रदेश र स्थानीय सरकारले समेत स्थानीय उत्पादनको बजार व्यवस्थापन र व्यावसायिकरणका लागि ठोस योजना नै बनाएर प्रोत्साहित गर्ने हो भने कोदो म्याग्दीका किसानको राम्रो आम्दानीको स्रोत बन्न सक्ने पश्चिम म्याग्दीको दरबाङ बजारका व्यवसायी अमृत सापकोटाले बताउनुभयो ।

म्याग्दीका छ वटै स्थानीय तहमा कोदोको राम्रो उत्पादन हुन्छ । थोरै बिउमा समेत धेरै उत्पादन गर्न सकिने कोदो पाखो जमिनमा लगाउने गरिन्छ ।

कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार जिल्लामा दुईहजार,सात सय ५० हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदै आएकोमा गत वर्षदेखि बाँझो जग्गामा पनि किसानले कोदो खेती विस्तार गर्न थालेका छन् ।

गाउँगाउँमा सञ्चालित होमस्टे (घरवास) मा पनि कोदोको परिकारलाई प्राथमिकतामा राख्ने गरेको पाइएको छ । चिकित्सा विज्ञानले खाद्यान्नका रूपमा र बिरामीका लागि कोदो राम्रो मानिने चिकित्सकको भनाइ छ । उत्पादित कोदो बिक्री गर्नाका साथै घरेलु मदिरा उत्पादन गर्ने, ढिँडो र रोटी बनाएर खान बजारमा माग बढिरहेको हो ।

धु्रबसागर शर्मा

धु्रबसागर शर्मा बेनीअनलाइनका संवाददाता हुनुहुन्छ।