खानेपानीको समस्याका कारण हैरानी झेल्दै आएका म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटका वासिन्दाहरु घर घरमा धारा बनेर पानी आउन थालेपछि दङ्ग परेका छन् ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सहयोगमा उपभोक्ता समितिले निर्माण गरेको ‘एक घर, एक धारा’ खानेपानी आयोजनाबाट घरघरमा खानेपानीको सुविधा पुगेपछि बगरफाँटवासी खुसी भएका हुन् । आयोजनाबाट गाउँका दुई सय पाँच घरपरिवार लाभान्वित भएका छन् ।

सङ्घीय सरकारको रु एक करोड ४४ लाख ७५ हजार एक सय १२ सहयोगमा गाउँमा खानेपानी आयोजना निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष दीपक मल्लले जानकारी दिनुभयो ।

“कोप्रे, बाङगेरा र लहरेनीको मुहानमा ‘इन्टेक’ बनाएर ल्याएको पानी ५०-५० हजार लिटर क्षमताको तीनवटा रिजर्भ टयाङ्कीमा सङ्कलन गरी वितरण गर्न थालिएको छ”, उहाँले भन्नुभयो, “संरचना निर्माणको काम सकिएपछि दुई सय पाँचवटा घरमा मिटरसहित जडान भएका धारामा पानी वितरण गरेका छौँ ।”

“गाउँमा खानेपानीको लागि दिनहुँ झगडा हुने गर्दथ्यो । एउटै धारोमा आठ/दश घरले पाइप जोडेर घरघरमा पानी लैजान पालो कुर्नुपर्दथ्यो । अब ढुक्कसँग खानेपानी उपभोग गर्न पाइने भएको छ” स्थानीय उपभोक्ता गोमादेबी उपाध्यायले बताउनुभयो ।

परीक्षणका क्रममा देखिएका प्राविधिक समस्या समाधान र सुधार गरेर नियमित पानी वितरण गरिएको अध्यक्ष मल्लले बताउनुभयो । पाँच हजार दुई सय ७१ मिटर मुख्य र पाँच हजार पाँच सय ४७ मिटर वितरण पाइप लाइन निर्माण भएको छ । आयोजना निर्माणका लागि आव २०७९/८० मा रु ५३ लाख ११ हजार आठ सय ५२ र २०८०/८१ रु ९१ लाख ६३ हजार दुई सय ६० खर्च भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका सबइन्जिनियर सुनिल सिंह बोहोराले बताउनुभयो ।

उपभोक्ता समितिले कुल लागतको १० प्रतिशत बराबरको श्रमदान गरेका छन् । यसअघि बगरफाँटमा २१ वटा सार्वजनिक धारामार्फत खानेपानी वितरण हुने गरेको थियो । सार्वजनिक धाराबाट गाग्री, ग्यालीन र ड्रममा ओसार्ने तथा पाइप जडान गरेर घरघरमा पानी लगेर उपभोग गर्ने गरेका थिए ।

खानेपानी नियमित संचालन गर्नका लागि एकजना कर्मचारी नियुक्त गर्ने र आयोजनाको दिगो व्यवस्थापनका लागि महसुल निर्धारण गर्ने तयारी भइरहेको बगरफाँट खानेपानी उपभोक्ता समितिका सचिव चन्द्रवहादुर घिमिरेले बताउनुभयो ।

शिरानमा विशाल पहरो र पुछारमा म्याग्दी नदी रहेको बगरफाँट गाउँ म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको गाउँ हो । अरु सबै सुविधा र विकासका पूर्वाधारहरु भएको यस गाउँमा खानेपानीको समस्याकै कारण कतिपय व्यक्तिहरु बसाइँसराइ गरेर अन्यत्र जाने गरेका थिए । अव खानेपानीको सुविधा प्रत्येक घरघरमा पुगेपछि बसाइँसराइको समस्या पनि नियन्त्रण हुने स्थानीयले बताएका छन् ।

Leave a Reply