स्वदेश तथा विदेशका ठूल्ठूला अस्पतालमा पुगेर लाखौं रकम खर्च गर्दा पनि रोग निको नभएपछि तातोपानी कुण्डमा नियमित स्नान गर्न आएका बिरामी हरेक सोमाबार साँझ ‘सन्ध्याकालीन आरती’मा सहभागी हुन्छन् । रोगले निराश भएका बिरामीलाई सन्ध्याकालिन आरतीले मन आनन्द मात्रै नभई रोगसँग लड्न उर्जा थपेको छ ।

प्राकृतिक चिकित्सालयको रुपमा ख्याती कमाएको म्याग्दीको बेनी नगरपालिका–४, तातोपानी कुण्डमा गत साउन महिलाको पहिलो सोमबारबाट शुभारम्भ भएको ‘सन्ध्याकालीन आरती’ अर्को आर्कषण बनेको छ ।

प्राकृतिक चिकित्सालयको उपचार स्थलमा स्नान गर्न आउनेहरूमा आध्यात्मिक शान्ति र आनन्द महसुससँगै धार्मिक आस्थाको समेत संरक्षण भएको भरतपुर महानगरपालिका-७ कृष्णपुरबाट आउनुभएका मनबहादुर केसीले बताउनुभयो ।

तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामी तथा आन्तरिक पर्यटकलाई लक्षित गरी सञ्चालित ‘सन्ध्याकालीन आरती’मा भक्तजनको उत्साहजनक उपस्थितीसँगै भेटी समेत संकलन भएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काको भनाई छ ।

तातोपानी कुण्ड क्षेत्र धार्मिक दृष्टिकोणले समेत महत्वपूर्ण रहेको छ । तातोपानीमा आरतीमा श्रवण तथा महादीप सहित धार्मिक कार्यमा समेत प्रत्यक्ष सहभागि हुन म्याग्दीका साथै छिमेकी जिल्ला बागलुङ र पर्वतबाट समेत भक्तजन आउने गरेका छन् ।

भगवान शिवकोको पुजा आरधना गदैं १ सय ८ दीप प्रज्ज्वलन, महाआरतीसहितको विशेष पूजा गर्ने सुविधा छ। आरतीका लागि कन्या सहित ६ जनाले आरती बाचक रमेश खड्कासँगै सहभागिता जनाउने गरेको छन् । हिन्दु धर्ममा आरती पूजाअर्चनाको एउटा विधि हो । बलिरहेका आरतीका थाली आराध्यसमक्ष एक विशेष विधिले घुमाउने गरिन्छ ।

जमिन मूनिबाट ५३ डिग्री सेल्सियससम्मको तापक्रममा बिरेनुनको स्वादसहित निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्यास्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाई, सड्केको, मर्किएको, बज्रिएकोसहित चिसोका कारणबाट उत्पन्न सबै प्रकारका रोगहरु निको हुने जनविश्वास रहेको पाइन्छ । अहिले तातोपानी कुण्डमा दैनिक करिब ४ सयदेखि ५ सय जनासम्म बिरामी, सर्वसाधारण तथा पर्यटकहरुले नियमित रुपमा नुहाउने गरेका छन्।

Leave a Reply