संगीत कक्षामा रमाउँदै ज्ञानप्रकाशका विद्यार्थी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दाना ज्ञानप्रकाश माविमा कक्षा १२ मा अध्ययनरत सिर्जना विकले संगीत कक्षा लिन थालेको २ बर्ष भयो । विद्यालयमा नियमित पठनपाठनसँगै उनको अतिरिक्त क्रियाकलापमा सबैभन्दा धेरै समय संगीत कक्षामै बित्छ । र्सिजनाजस्तै कक्षा ६ का साहिल विकले संगीत कक्षाबाट मिठो गित गाउन सिकेका छन् ।

कक्षा ८ का नविन विक र कक्षा ९ का सागर बिकले विद्यालयका हरेक स्वागत गीत बाहेक पनि गीत अनुसार मादलेको भूमिकामा देखिन्छन् । यसपटक ४९ औं बार्षिकोत्सवमा मादले नविन, सागर र गायनका साहिलले उत्कृष्ट पुरस्कार समेत पाए । विगत २ बर्षदेखि विद्यालयमा सञ्चालित संगीत कक्षामा हरेक कक्षाका विद्यालय पुग्ने भएपनि अहिलेसम्म २२ जना विद्यार्थी विभिन्न विधामा उत्कृष्ट छन् ।

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप अन्तरगत हरेक दिन साँझ ४ देखि ५ बजेसम्म नियमित संगीत कक्षामा रमाइलोका लागि गएकोमा अहिले धेरै सिकेको अर्का विद्यार्थी इशा विकले बताइन् ।गीतसंगीतमा रुचि राख्ने विद्यार्थी, शिक्षकको सहयोगमा आधारभु्तदेखि मावि तहसम्मका विद्यार्थीलाई कक्षामा सिकाउने गरिएको विद्यालयका प्रधानाध्यापक शान्त नेपालीले बताए ।

’सबै विद्यार्थीलाई अनिवार्य गरेका छौ, बजाउने जान्नेले बजाउँछन्,गाउनेले गाउँछन्’ प्रमुख प्रशिक्षक समेत रहेका प्रअ नेपालीले भने। संगीत कक्षामा आउने अन्य विद्यार्थीको तुलनामा मोबाइलको प्रयोग कम गर्ने, फुर्सदमा पनि विभिन्न थरीथरिका बाजा बजाउन ध्यान दिने गरेको पाइएको प्रअ नेपालीको भनाई छ ।

संगीत प्रशिक्षक नहुदाँसम्म प्रअ नेपालीले सिक्ने र सिकाउने मात्रै गरेका छैनन् हरेक प्रस्तुतीमा हार्मोनियमको जिम्मेबारी समेत सम्हाल्ने गरेका छन् । विद्यालयका सबै विद्यार्थीलाई गाउन र बजाउन सिकाउने र सुरिलो स्वर भएकालाई विद्यालयमा गतिविधिमा गाउने अवसर समेत दिने गरिएको छ । ‘सङ्गीत अपार चिज हो, पढाइमा मेधावी विद्यार्थीले पनि जीवन जिउने गीत संगितको आवश्यकता पर्छ’ प्रअ नेपालीले भने ।

प्रअ नेपालीकी छोरी हाल मेडिकल विद्यार्थी आयुषा नेपालीले समेत राम्रो गीत गाउँछिन्। संगीत कक्षाले आफ्ना बालबच्चालाई मोबाइल हेर्ने बानी कसरी हटाउने भन्ने चिन्तामा रहेका अभिभावकलाई समेत सहज भएको अभिभावक गंगा कुमाईको भनाई छ ।

‘ मोवाइलमा भेटिने विद्यार्थीलाई संगीत कक्षाले समय तानेको छ, मोवाइलमा रमाउने बालबालिकाको बानी कसरी हटाउने भन्ने उपाय समेत यहाँ ब्यस्त रहेका बालबालिकाबाट सिक्न सकिन्छ’ यसबर्ष विद्यालयकी उत्कृष्ट अभिभावक समेत रहेकी कुमाईले भनिन् । गीत–संगीतमा रुचि राख्ने विद्यार्थीको संख्या बढ्न थालेपछि शिक्षा विकास कोषका अध्यक्ष कृष्ण तुलाचनले विभिन्न समयमा साम्रागी समेत हस्तान्तरण गरेका छन् ।  विद्यालयका सहयोगदाताले समेत संगीत कक्षालाई सहयोग गरेकाले अहिले सञ्चालनमा सहज भएको छ ।

File video

अन्नपूर्ण गाउँपालिकामा नमुना विद्यालयले रुपमा छनौट भएको विद्यालयले पहिलो चरणमा आफ्नै कोषबाटे करिब २ लाखको लागतमा बाँसुरी, खैजडी, मुजुरा, मादल, हार्मोनियम, किबोर्ड, गितार, सारङ्गी लगायतका बाजा खरिद गरेको थियो भने सहयोगदाताबाट समेत प्राप्त सहयोगले नियमित कक्षा सञ्चालन प्रभावकारी भएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पूर्जाको भनाई छ ।

उनले बालबालिकाको मोबाइल हेर्ने बानी छुटाउन समेत संगीत कक्षा प्रभावकारी देखिएको बताए । म्याग्दीमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा सामुदायिक विद्यालयतर्फ ज्ञानप्रकाश मावि समेत अग्रणी स्थानमा आउँछ ।

Previous articleवुमन्स च्यालेन्जर :टी २० क्रीकेट : अकलाको लगातार दोस्रो जित
Next articleनारच्याङको नर्थ अन्नपूर्ण आधार शिविरमा सेल्टर सहितको संरचना थपिदैं
हरिकृष्ण गौतम
हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।