राष्ट्रिय भलिबल टिमकी सर्वाधिक सफल कप्तान’ अरुणा शाही ८औं म्याग्दी जलजला परिवारले आयोजना गरेको एक दिवसीय पुरुष र महिला भलिबल च्याम्पियनसिपका लागि अस्ट्रेलिया पुग्नुभएको छ ।

नेपालमा महिला भलिबललाई निरन्तर उपाधी जिताउन सफल शाही आगामी डिसेम्बर २९ तारिकमा अबर्न बास्केटबल सेन्टरमा हुने प्रतियोगितामा म्याग्दी जलजला परिवारबाट मैदानमा देखिनुहुने छ ।

नेपाललाई २ दशकपछि पहिलोपटक अन्तराष्ट्रिय उपाधी जिताउने तथा बलियो मानिएका देशसँग समेत उपाधीका लागि भिड्ने टिम बनाउन सफल शाही अस्ट्रेलिया भ्रमणकै क्रममा हङकङमा पुगेर भलिबल खेलेर फर्किनुभएको छ ।

‘भलिबल खेलेर छिट्टै फर्किन्छु, यहाँ भलिबलको रौनकता देखेर निकै उत्साहित छु’ शाहीले बेनीअनलाइनलाई भन्नुभयो । रघुगंगा गाउँपालिका–३ पिप्लेकी शाहीले सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गर्नुभएको थियो ।

महिला भलिबलको टोलीमा शाहीको कप्तानीमा भएका सफलतालाई अहिलेसम्मकै ठूलो भएकाले सर्वत्र चर्चा हुने गरेको छ। यसपटक म्याग्दी जलजलाको खेल विगत भन्दा निकै रोचक र दर्शकको चासो रहेको छ ।

महिला टोलकिी क्याप्टेन शाहीसँगै नेपाल राष्ट्रिय महिला भलिबल टिमकी प्रमुख हिटर सरस्वती चौधरी, प्रतिभा माली तथा पुरुषतर्फ नेपाल राष्ट्रिय पुरुष भलिबल टिमका पूर्व क्याप्टन मन बहादुर श्रेष्ठ, राजु शेरचन, राजेन्द्र बिष्टा, टेक राज अवस्थी, विशाल बहादुर बीके.र दिल सुनार लगायत छन् । यो च्याम्पियनसिप एक महत्वपूर्ण अवसर भएको म्याग्दी जलजला परिवारका अध्यक्ष दिपेन्द्र भण्डारीको भनाई छ ।

नेपालका प्रमुख भलिबल खेलाडीहरूले आफ्नो कौशलसँगै नेपाली समुदायका लागि एकता र सांस्कृतिक आदानप्रदानको अवसर पनि हुने अध्यक्ष भण्डारीको भनाई छ । नेपाली भलिबल प्रेमीहरूका लागि एक अविस्मरणीय अनुभव बनाउने गरी आयोजकले जनाएको छ ।

Leave a Reply