म्याग्दीको अति विकट गूर्जा गाउँ जोड्ने सडक देउराली पुग्यो

म्याग्दीमा एउटा पूरानो उखान निकै प्रचलित छ । ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन’ । म्याग्दी जिल्लाको अति विकट धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँको अवस्था, विवशता र बाध्यतालाई तोड्न अब सडक सञ्जाल गाउँमै पुग्ने भएको छ ।

अल्पसंख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गूर्जालाई सडक सञ्जालले जोड्न लुलाङ र गूर्जाको सीमाना देउराली धुरीसम्म ट्रयाक (मार्ग) खुलेको हो ।

संघीय, गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाको प्राथमिकतामा रहेको सडकखण्ड अन्तरगत लुलाङबाट देउरालीसम्म छ किलोमिटर मार्ग निर्माण भएको धवलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

‘गाउँपालिकाको गौरवको योजना हो, सडक सञ्जालले गूर्जाको सम्भावनाहरू उजागर गर्नेछ’ गाउँपालिका अध्यक्ष पुनले भने । संघीय, प्रदेश र गाउँपालिकाबाट चार करोड बजेट विनियोजन गरेको लुलाङ–गुर्जा सडक योजनाका लागि रारा तेन्जिन कन्ट्रक्सनले तीन करोड ८० लाखमा ठेक्का सम्झौता गरेको थियो।

गाउँपालिकाको केन्द्र मुना हुँदै आव २०७९÷८० मा गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा लमसुङबाट लुलाङ हुँदै ४ किलोमिटर ४ सय मिटर सडकको मार्ग निर्माण भएकोमा अब छिटै गूर्जाबाटै सवारीसाधनमा चढेर गन्तब्यसम्म पुग्न सकिने गूर्जाका वडाध्यक्ष झक छन्त्यालले बताए ।

‘गूर्जाबासीको सपना पूरा हुदैछ, अब एकैदिनमा सदरमुकाम बेनीबाट गुर्जा पुगिन्छ, स्थानीय उत्पादनले पनि बजार पाउँछ’ अध्यक्ष छन्त्यालले भने ।

गाउँपालिकाको केन्द्र मुनाबाट एकदिनमा पुगिने गूर्जा अब सवारीसाधनमा ३ घण्टामै सहजै पुग्न सकिन्छ भने लुलाङबाट देउरालीसम्म पुग्न उकालोमा चार घण्टा हिँड्नुपर्नेमा अब आधाघण्टामै छोटिएको अध्यक्ष छन्त्यालको भनाई छ ।अहिले ट्याक खुलेपछि बोलेरो, ट्याक्टर र मोटरसाइकलमा स्थानीयबासी आवतजावत गर्ने गरेका छन् ।

देउरालीबाट गुर्जातर्फ सडक निर्माणका लागि चालु आवमा संघीय सरकारले दुईवटा शीर्षकमा एक करोड ३५ लाख, प्रदेश सरकारले ५० लाख र गाउँपालिकाले ३५ लाख विनियोजन गरेका छन्।

गुर्जा जोड्ने सडकमा पर्ने लमसुङस्थित दरखोलामा प्रदेश सरकारले २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको छ। जिल्लामा लुकेको बस्तीको परिचयले समेत चिनिने गूर्जामा २ सय ३० घरधुरीमा रहेको छ । यहाँका बासिन्दा बिरामी हुदाँ महंगोमा हेलिकप्टरमा यात्रा गर्नुपर्ने बाध्यता थियो । म्याग्दीको ६ वटा स्थानीय तहका ४५ वडामा सडक सञ्जाल नजोडिएको गूर्जा मात्रै थियो ।

Previous articleजलजलाका विद्यार्थी श्रद्धा र अनुराग बाल रत्नबाट विभुषित
Next articleबाल्टिमोरमा डिनर च्यारेटी, बेनीका विद्यालयमा सहयोग