बोल्ने कला, नेतृत्व विकास र सञ्चार सिपसम्बन्धी तालिम सुरु म्याग्दीको सदरमुकाम बेनीमा शुक्रवारदेखि बोल्ने कला, नेतृत्व विकास र सञ्चार सिप सम्बन्धी विषयमा तालिम सुरु भएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल जिल्ला कार्यसमिति म्याग्दी र नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीको संयुक्त आयोजनामा तालिम सञ्चालन गरिएको हो।
बोल्ने कलासँगै नेतृत्व र क्षमताको विकास गर्न तथा सञ्चार सम्बन्धी सिपको विकास गर्ने उद्देश्यसहित तालिमको आयोजना गरिएको जनाइएको छ । तालिमको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले निरन्तरको अभ्यासले बोल्ने कला र क्षमतामा पोख्त हुन सकिने बताउनुभयो ।
उहाँले कार्य क्षेत्रमा बोल्ने क्रममा निकै ध्यान दिनुपर्नेमा जोड दिँदै तालिमले व्यक्तित्व र नेतृत्व विकासमा सहयोग पु¥याउने बताउनुभयो । दुई दिनसम्म चल्ने तालिमको विकल्प टे«निङ सेन्टर पोखराका प्रमुख सहजकर्ता एवं मानवअधिकार एलायन्सका केन्द्रीय सचिव रामचन्द्र पौडेलले सहजीकरण गरिरहनुभएको छ ।
तालिममा म्याग्दी जिल्लाको विभिन्न क्षेत्रका २५ जनाले सहभागिता जनाएका छन् । तालिममा बोल्ने कला, नेतृत्व तथा क्षमता विकास, सञ्चार सिप, कार्यक्रम सञ्चालन गर्ने तौरतरिका लगायतका विविध विषयहरुमा सहजीकरण भैरहेको छ । तालिममा सैद्धान्तिक कक्षाको साथमा व्यवहारिक ज्ञान, सिप तथा प्रयोगात्मक अभ्यास समेत गराइएको आयोजकले जनाएका छन् ।
मिलन म्याग्दीको प्राविधिक सहयोग र विकल्प टे«निङ सेन्टर पोखरा नेपालको सहजीकरणमा सञ्चालित तालिममा नेपाल औषधी व्यवसायी संघ म्याग्दीका अध्यक्ष शम्भुराज पाण्डेले स्टेशनरीलगायत आवश्यक सामग्री सहयोग गर्नुभएको थियो ।
तालिमको उद्घाटनसत्र नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीका उपाध्यक्ष खम थापा मगरको अध्यक्षता, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल म्याग्दीका अध्यक्ष सुमित्रा थजालीले स्वागतसहित तालिम आयोजना गर्नुको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने महासंघका कोषाध्यक्ष रुमाकुमारी खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।