गृह मन्त्रालयको आयोजनामा शुक्रवारदेखि म्याग्दीको सदरमुकाम बेनीमा अनलाइन प्रणालीमार्फत नेपाली नागरिकताको सिफारिस सम्बन्धी विषयमा तालिम सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दी र जिल्ला समन्वय समिति म्याग्दीको समन्वय तथा व्यवस्थापनमा वडा सचिव र वडा अध्यक्षहरुलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको हो ।

नेपाली नागरिकताको अनलाइन प्रणालीमार्फत स्थानीय तहबाट सिफारिस सम्बन्धी विषयमा प्रशिक्षण तथा अन्तत्र्रिmया कार्यक्रम आयोजना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नेपाली नागरिकताको सिफारिस प्रणालीलाई प्रभावकारी, व्यवस्थित र चुस्तदुरुस्त बनाउने तालिमको उद्देश्य रहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताउनुभयो ।

नागरिकता सिफारिसको कार्यलाई समयसापेक्ष, प्रविधिमैत्री र सेवाग्राहीलाई झन्झटरहित छिटोछरितो सेवा प्रदान गर्नको लागि पूर्वतयारीस्वरुप अनलाइन सिफारिस सम्बन्धी विषयमा तालिम सञ्चालन गरिएको प्रजिअ ढकालले जानकारी दिनुभयो । नेपाल सरकारले नेपाली नागरिकताको सिफारिसलाई अनलाइन प्रणालीमा लैजाने लक्ष्य अनुसार सेवा प्रवाहलाई सरल, प्रभावकारी र नागरिकमैत्री बनाउने तयारी गरेको जनाएको छ ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको तालिमको उद्घाटनसत्रमा संविधानसभा सदस्य गोविन्द पौडेल, बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, नेपाली कांग्रेस म्याग्दीका उपसभापति कर्णबहादुर भण्डारी (केबि) र नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले मन्तव्य व्यक्त गर्दै सार्वजनिक सेवा प्रवाह नागरिकमैत्री हुनुपर्नेमा जोड दिनुभयो ।

जिसस प्रमुख थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ढकालले स्वागतसहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने निमित्त जिल्ला समन्वय अधिकारी अमृत सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख डिलकुमारी खत्रीसहित सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

उक्त तालिममा म्याग्दी जिल्लाको ४५ वटै वडाका वडा सचिवहरु, वडा अध्यक्ष र वडा तथा पालिकामा कार्यरत एमआईएस अपरेटरहरुले सहभागिता जनाएका छन् । दुई दिनसम्म चल्ने तालिममा गृह मन्त्रालयका सूचना प्रविधि अधिकृतद्वय दिवस कार्की र प्रभात खरेलले सहजीकरण गरिरहनुभएको छ ।

 

Leave a Reply