म्याग्दीको मंगला गाउँपालिका-५ अर्मनको छिस्वाङमा गुन्द्री बुन्दै महिला । फाइल तस्वीर
आधुनिकता र बजारीकरणको प्रभावले घरको आँगनमै तान हालेर परालको गुन्द्री बुन्ने चलन हराउँदै गएको छ ।
पुस-माघ महिनामा घरको आगनमा तान हालेर घाम (पाहार) ताप्दै गुन्द्री बुन्ने र वर्षभरी तिनै परालका गुन्द्री प्रयोग गर्ने चलन अहिले बजार क्षेत्रमा मात्रै होइन ग्रामीण क्षेत्रहरुमा समेत हराउँदै गएको हो ।
“हामीले कात्तिकमा धान काटेपछि अलि लामो पराल छुट्याएर गुन्द्री बुन्नका लागि राख्ने गर्दथ्यौँ, पुस-माघको महिनामा घाम लाग्ने ठाउँमा तान हालेर घरका महिला सदस्य वा छिमेकीहरु भेला भई गुन्द्री बुन्दै दुख सुखका कुरा गर्ने गर्दथ्यौं” बेनी नगरपालिका-२ बगरफाँटकी ७० वर्षिया गोमादेवी उपाध्यायले भन्नुभयो “पहिले-पहिले परालको गुन्द्री नभएको घर नै हुँदैन थियो । पछिल्लो समय गुन्द्री विरलै देख्न पाइन्छ ।”
न्यानो र स्वस्थकर मानिने यस्ता गुन्द्री प्रयोग भने हिजोआज घट्दै गएको छ । गाउँमा कहीँकतै गुन्द्रीका तान देख्दा नयाँ पुस्तालाई नौलो लाग्न थालेको छ । परालको गुन्द्री वर्षभरि ओछ्याउन, बस्न, अन्न सुकाउन, गाईवस्तुलाई गोठमा बार लगाउन र आफन्तलाई उपहार दिन बढी प्रयोग हुने गर्दथे ।
बजारमा सजिलै पाइने प्लास्टिकका गुन्द्री र म्याटको बढ्दो प्रयोगसँगै परम्परागत परालको गुन्द्री बुन्ने चलन हराउँदै गएको हो । गाउँघरमा केहीले मात्र आफूलाई आवश्यक पर्ने गुन्द्री मात्र बुन्दै आएका छन् ।
“पहिला पहिला घरमा आएका पाहुनालाई स्वागत गर्दा ओछ्याउने गाउँले गलैँचा भनेकै गुन्द्री हुन्थ्यो,विवाह, व्रतबन्ध होस् वा अन्य सामाजिक संस्कारका काम गर्दा पनि गुन्द्री अति उपयोगी मानिन्थ्यो । परालबाट बन्ने र यताउता लैजाँदा हलुका र झन्झट नहुने हुँदा यो अति नै उपयोगी गर्दथ्यो” बगरफाँटकी यामकुमारी शर्माले भन्नुभयो ।
“हाम्रो पालामा त बाबियो काटेर र बाबियो बाटेर तान लगाई गुन्द्री बुन्ने चलन थियो । अहिले त बाबियो पनि मासिँदै गयो। । बाबियो, परालको गुन्द्रीको प्रयोग घट्दै छ,” शर्माले भन्नुभयो “गुन्द्री बुन्नका लागि नयाँ पुस्तालाई सिक्ने चासो छैन । यसरी चासो नदिने हो भने हाम्रो परम्परा हराउँदै जान्छ । गाउँको भन्दा सहरिया उत्पादनले बढी ठाउँ ओगट्ने हुन्छ । प्लास्टिकको गुन्द्री चिसो हुने र महँगो पनि पर्ने हुँदा यो चलनलाई जोगाउनुपर्छ ।”
गुन्द्री बुन्नका लागि समय लाग्ने हुँदा पछिल्लो पुस्ताले यो चलनलाई छाड्दै गएको मंगला गाउँपालिका-२ की सीमा पौडेल बताउनुहुन्छ । समय धेरै लाग्ने र झन्झटिलो मान्ने हुँदा अहिलेका छोरी-बुहारीले यसप्रति चासो नदिएको उहाँको भनाइ छ ।
बेनी नगरपालिका-२ का वडाअध्यक्ष यामबहादुर कार्कीले मौलिक सीप,परम्परा र चालचलनसँग गाउँको प्रतिष्ठा गासिने भएकोले यस्ता पुख्यौली चलन र सीपहरुको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।
स्थानीय सरकारले पनि यस्ता सीप र सीपसँग जोडिएका जनशक्तिलाई आवश्यक सहयोग गर्ने बताउँदै उहाँले पुख्र्यौली सीप संरक्षण र प्रवर्द्धनका निम्ति नयाँ पुस्ताले चासो दिनुका साथै पुराना पुस्ताले पनि सीप हस्तान्तरण गर्न जाँगर देखाउनुपर्छ भन्नुभयो ।
म्याग्दीको मंगला गाउँपालिका-५ अर्मनको छिस्वाङमा गुन्द्री बुन्दै महिला ।