म्याग्दीमा घुमफिर गरेर रमाउनको लागि थुप्रै पर्यटकीय स्थलहरु रहेका छन् । तीमध्ये बेनी नगरपालिका क्षेत्रभित्र पर्ने केभहिल अर्थात् गुफाको डाँडो एक पर्यटकीय गन्तव्य हो । बेनी–५, पुलाचौरस्थित गाजने गाउँमा पर्ने केभहिल अहिले पर्यटकीय आकर्षणको गन्तव्य बन्दै गएको छ ।
हेमन्त ऋतुको समय दैनिक रुपमा चिसो बढ्दो क्रममा छ । तर यही चिसो मौसममा केभहिल भने स्पष्टसँग खुलेको छ । यतिबेला मौसम खुलेको हुँदा केभहिलबाट देखिने सेताम्य हिमालहरु हाँसिरहेका छन् ।
यदि तपार्इँ गाजने गाउँ, जगन्नाथ मन्दिरको दर्शन तथा केभहिलको भ्रमणमा जानुहुन्छ भने हिमालसँगै हाँसेर मितेरी लाउन पाउनुहुन्छ । केभहिलमा पुगेर उत्तर पूर्वतिर उँभिएर हेर्ने हो भने धित मरुन्जेलसम्म हिमालका लर्कनहरु देखिन्छन् ।
प्रसिद्ध जगन्नाथ मन्दिर, डढेकोट दरबार र पर्यटकीयस्थल केभहिल पर्ने गाजने गाउँसम्म पुग्ने सडकको पहुँच विस्तार, धार्मिक तथा पर्यटकीय स्थलहरुलाई लक्षित गरेर भौतिक पूर्वाधारका संरचनाहरु निर्माण तथा प्रचारप्रसार हुन थालेपछि केभहिल पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै जान थालेको स्थानीयवासीले बताएका छन् ।
मौसम खुलेको समयमा धौलागिरि रेञ्ज र अन्नपूर्ण रेञ्जमा पर्ने सबैजसो हिमालहरु छर्लङ्गै देखिन्छन् । संसारको सातौं अग्लो चुचुरो धौलागिरि हिमालमा मात्रै विभिन्न ६ ओटा चुचुराहरु रहेका छन् ।
यहाँबाट देखिने अर्को दशौं अग्लो हिमाल अन्नपूर्णमा चारवटा चुचुरा छन् । पर्यटकीयस्थल केभहिलबाट धौलागिरि र अन्नपूर्णसँगै निलगिरी, माछापुच्छे, मानापाथी, गूर्जा, चुरेनलगायत झण्डै डेढ दर्जन हिमालहरु प्रत्यक्ष देख्न सकिन्छ । केभहिलबाट हिमाली जिल्ला म्याग्दीको साविकका ४१ मध्ये ३६ वटा गाविसहरु देखिन्छन् ।
समुन्द्री सतहदेखि २२ सय मिटरको उचाइमा अवस्थित केभहिलको डिलबाट चारैतिरको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । यसैगरी यहाँबाट छिेमकी जिल्ला पर्वतको जलजला गाउँपालिकासहित बागलुङको पर्यटकीय तथा धार्मिक क्षेत्र पञ्चकोटलगायत अन्य जिल्लाको डाँडाकाँडाहरु समेत देख्न पाइन्छ ।
गाजने गाउँको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरेर केभहिलमा भ्यु–टावर बनाइएको छ भने भ्यु टावरको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । जगन्नाथ मन्दिरको दर्शन र पुजा गर्न आउने तथा पुलाचौर र घतानमा कार्यक्रम लिएर जानेहरु एकैछिन भए पनि पर्यटकीयस्थल केभहिलसम्म पुगेर रमाउने अनि फर्किने गरेका छन् ।
हेर्दा निकै सुन्दर, आकर्षक र मनमोहक दृश्यहरु देख्न पाइने पर्यटकीयस्थल केभहिलले पर्यटकहरुलाई खुबै लोभ्याइरहन्छ । केभहिल र जगन्नाथ क्षेत्रको भ्रमण गर्न पोखरादेखि आउनुभएकी आन्तरिक पर्यटक सुष्मा पौडेलले यहाँ आएर घुम्न पाउँदा आफूले निकै आनन्दको महसुस गर्न पाएको अनुभव सुनाउनुभयो ।
पर्यटकीयस्थल केभहिल र गाजने गाउँसम्म सडकको पहुँच विस्तार भएकाले पछिल्लोपटक भ्रमण गर्ने पर्यटकहरु बढ्दै गएका छन् । म्याग्दी सदरमुकाम बेनीदेखि पुलस्त्य पुलहाश्रम–ढोल्ठान भएर जगन्नाथ जोड्ने पदमार्गको पनि निर्माण थालिएको छ ।
बेनी नगरपालिकाभित्र रहेका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रमा पूर्वाधार बनाउन आवश्यक पहल थालिएको नगर प्रमुख सुरत केसीले बताउनुभयो । केभहिल र जगन्नाथ मन्दिर नजिकै रहेको धार्मिक क्षेत्र डढेकोट दरबारसम्म पुग्नको लागि पर्यटन पदमार्ग समेत निर्माण गरिएको छ ।