---Advertisement---

गुर्जाको पहाडमा चम्किने कार्ज पत्थर खानी अझै अलपत्र

On: December 30, 2024 8:32 PM
Follow Us:

म्याग्दीको अति विकट धवलागिरी गाउँपालिका वडा नं १ मा पर्ने गूर्जामा बर्षौ अगाडी भेटिएको हिरा जस्तै चम्किने बहुमूल्य पत्थर ‘कार्ज’ को खानी गाउँपालिका र अन्य सरोकारवाला निकायको बेवास्ताका कारण अलपत्र परेको छ ।बहुमूल्य कार्ज पत्थरखानी उत्खनन् तथा थप अध्ययनका लागि गाउँपालिकाको प्राथमिकतामा परेको छैन ।

कार्ज पत्थरका कारण रातको समयमा हिराजस्तै टल्कन गुर्जा हिमालको फेदमा रहेको घुर्मखोलाको पहाडबाट उत्खनन् गर्न स्थानीयले आह्वान गरेका थिए।

बहुमूल्य विलासी धातुमा प्रयोग हुने ‘कार्ज’ नामक उक्त पत्थरको खानी गुर्जाको पहाडमा रहेको प्रमाणित भएपनि थप अनुसन्धान र उत्खनन्मा सरकारी निकायले चासो नेदखाएको गूर्जाबासीको भनाई छ ।

खानी तथा पुरातत्व विभागले डेढ दशक अगाडी उक्त ढुङ्गा खानीको पहिचान गरेपनि उत्खननका लागि सम्बन्धित निकायले चासो नदेखाउदा अलपत्र परेको वडाअध्यक्ष झक छन्त्यालको भनाई छ ।

गुर्जा गाउँबाट करिव एकदिनको दुरीमा रहेको खानी आसपासका पहाडहरू रातको समयमा बत्ती बलेजस्तै टल्किने त्यस क्षेत्रमा पुगेर फर्किने गरेका स्थानीयको भनाई छ।

खानी भएको क्षेत्रमा रातको समयमा पहाड नै बत्ती बालेजस्तै उज्यालो हुने भएकाले पनि स्थानीयले अनुसन्धानमा फेरी सक्रियता देखाउन समेत अनुरोध गरेका छन् । पत्थरलाई उचित प्रशोधन गरे बहुमुल्य धातु तथा औठी तथा मानिसले प्रयोग गर्ने धातुहरूमा प्रयोग गर्न सकिन्छ ।

यता म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले विगतमा समेत निजी क्षेत्रबाट चासो देखाइएको बताउँदै यसपटक पनि यही पुस २८ देखि माघ ८ गतेसम्म म्याग्दीको सदरमुकाम बेनीमा हुने आठौं म्याग्दी महोत्सव एवम् माघेसङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०८१ मा समेत धवलागिरी गाउँपालिकाबाट प्रर्दशनीका लागि अनुरोध गर्ने र सम्बन्धित निकायमा समेत जानकारी गराउने बताए । उनले स्थानीय तहको स्टलमा बहुमूल्य खानी, जडिबुटी र अर्गानीक उत्पादन सहित स्थानीय तहमा रहेका सम्भावना झल्किने गरी प्रर्दशन र बिक्री गरिने बताए ।