म्याग्दीको बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको सिमानामा अवस्थित पर्यटकीयस्थ्ल ‘टोड्के’मा रहेको ‘टोड्के हिल रिसोर्ट’ले आठौं म्याग्दी महोत्सवमा आउने पर्यटकलाई निःशुल्क बास दिने घोषणा गरेको छ ।
सडक सञ्जालको सहज पहुँच तथा आरामदायी बसाईका लागि उपयुक्त स्थान रहेको टोड्केको प्रवद्र्धनमा सहयोग पु¥याउन र महोत्सवलाई सफल बनाउने उद्धेश्यले महोत्सव अबधिभर निःशुल्क बासको घोषणा गरिएको हो। रिसोर्टका अगुवा भीम शेरचनले पर्यटकलाई एक रात निःशुल्क बास बस्न दिने र खाना र खाजाको भने पैसा लाग्ने बताउनुभयो ।
उहाँले खाना र खाजामा समेत छुट दिने बताउँदै टोड्केसम्म पर्यटक पुग्ने वातावरण बनाउन सबै पक्षलाई अनुरोध गर्नुभयो । टोड्के हिल (२४३० मिटर) म्याग्दीको सदरमुकाम बेनीबजारको शिरमा रहेको टोड्कमा बि.स २०७५ देखि ३५ जना गाउँलेको लगानीमा रिसोर्ट सञ्चालनमा आएको छ जहाँ ११ ओटा कोठा र १० ओटा टेन्ट छन्।
धौलागिरी,अन्नपूर्ण, माछापुच्छ्रे सहित हिमश्रृंखलाको दृष्याअवलोकन गर्न पाइने उक्त स्थानमा सूर्योदय र सूर्यास्त अवलोकनका साथै धार्मिक हिसाबले महत्त्वपूर्ण छ। डाँडाबाट धौलागिरि, अन्नपूर्ण र हिमालको मनोरम दृश्य देखिन्छ। स्वर्गद्वारी महाप्रभु लगायत धेरैले यहाँ तपस्या गरेका थिए। डाँडाको थाप्लोमा स्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान पनि रहेकाले पदयात्रामा रमाउनेलाई समेत यो उत्कृष्ट छ ।
म्याग्दी महोत्सवका मुल आयोजक एवम् म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले टोड्केमा निशुल्क बासको सुविधाले पर्यटकलाई थप आर्कषित गर्ने बताउनुभयो । उहाँले पर्यटकलाई महोत्सवअवधिभर म्याग्दी जिल्ला भित्रका पर्यटकीयस्थलसम्म पुग्ने वातावरण बनाउन आवश्यक सहजीकरण समेत गरिने बताउनुभयो । टोड्केमा कुहुँ, पूर्णगाउँ, झीँ, वाखेत क्षेत्रबाट सडक सञ्जालमै पुग्न सकिन्छ ।
कसरी पुग्ने ?
म्याग्दीको सदरमुकाम बेनीबजारमा नेपालका विभिन्न क्षेत्रबाट आउन सकिन्छ । काठमाण्डौबाट बेनीसम्म २८२ किमि, बसमा ९ घन्टा। अथवा काठमाडौं–पोखरा हवाईयात्रा २५ मिनेट। पोखरा–बेनी ८२ किमि, बसमा ३ घन्टा। बेनीबाट टोड्केसम्म पदयात्रा गर्न ८ घन्टा लाग्छ। बेनी बजारको हुलाकचोकबाट अर्थुङे, गुफा (राम मन्दिर), पुलाश्रम, ढोलथान, केभहिल हुँदै टोड्के १४ किमि। केभहिलभन्दा माथि ४ घन्टा पदयात्रामा कुनै वस्ती छैन। बेनीबाट गाडीमा टोड्के पुग्ने पाँच वटा सडक छन्। सडक मार्गबाट जीप तथा मोटरबाइकमा पुग्न सकिन्छ, जीपमा डेढदेखि दुई घन्टा लाग्छ।