आर्थिक अवस्था त कमजोर थियो नै, रोगले पनि उनलाई उत्तिकै सास्ती दियो । तर, उनले आफ्नो सीप उपयोग गरेर हिम्मतका साथ बाँचेका छन् । परिवार पनि आफ्नै सीपले पालेका छन् ।
तमानखोला गाउँपालिका वडा नं. १ बोङगादोभाका धनीराम सुनार अपांग भएपनि मुढा बुनेरै घर परिवार पाल्दै आएका छन्। सोह्र वर्षको उमेरमा खुट्टामा आएको समस्या समाधान गर्न खोज्दा अपांग भएका थिए। उनी । सुरुवातमा खुट्टा सुनिदै गएर उनी हिंड्नै नसक्ने भएको बेला बाबुआमाले धामीलाई देखाएका थिए । धामीले भने आरो हालेपछि उनी अपांग भएका थिए ।
आरो हालेपछि उनी १० वर्ष ओच्छ्यान परे । दुवै खुट्टाको नसा र हड्डी सुके पनि उनको कतै उपचार भए्न । आर्थिक अवस्थाका कारण परिवारले उपचारमा लैजान सकेनन् । धामी झाँक्रीबाट अपांग भएपछि लामो समय घस्रेर हिंड्थे । बाँसको बैसाखी टेकेर शौचालयसम्म हिंड्न सक्ने भएपछि चोया काढेर दुइ छाक खाने जोहो गरे । हिँड्न नसक्ने अवस्थामै उनले मुढा बुन्ने सीप सिकेर आत्मनिर्भर बन्दै आएका छन् ।
हिँडेर कतै जान नसकेपनि १५ दिनको तालिम पाएपछि उनले व्यवसायीझैं काम गर्न थालेका छन् । नियमित अर्डर आउन थालेपछि उनले दैनिक २ वटा मुढा बुन्न भ्याएका छन् । हाते मेसिनबाट एकदुइ वटा कपडा सिलाउँछन् । गाउँगाउँमा उनको उत्पादन बिक्री हुन्छ । एउटा मुढालाई उनले ६ सय रुपैयाँमा बिक्री गर्न सकेको बताए । यसरी कमाएको पैसाले उनले दुइ छोरा र १ छोरी पढाएका छन् ।
अहिले त उनकै सीपले ७ जना परिवार पालिएका छन् । उपचारमा निस्कंदा अपरेशन गर्नुपर्ने भनेपछि सुनार पैसा अभावमा फर्केका थिए । उपचारपछि पनि पुरानो अवस्था आउने संभावना छैन भनेपछि उपचारै नगरेको सुनारले बताए । ‘धेरै खर्च लाग्ने, सञ्चो हुन्छ भन्ने पनि यकिन छैन, त्यसैले फर्केको हुँ,’ सुनारले भने, ‘सम्पत्ति छैन, उपचारमा ऋण लाग्यो भने परिवारको बिचल्ली हुन्छ ।’ पत्नि काली सुनार र छोरा दिपकले कमाइ नभए घर चल्न नसक्ने भएकोले उपचारमा पठाउन नसकेको बताए ।
छिमेकी निर्मला बुढाथोकीले गाउँपालिकामा पनि उनको उपचार खर्चका लागि पहल भएको बताइन् । ‘उपचारका लागि धेरै पहल भए, तर झन् खतरा होला भनेर मान्नु भएन,’ बुढाथोकीले भनिन्, ‘उपचार गर्ने नै भए अन्य क्षेत्रबाट पनि केही सहयोग जुटाउने कुरा भएको थियो ।’ पीडा भुल्न लिएको तालिमपछि सुनारले उत्पादन गर्ने मुढाको व्यवसाय बढाउन साथ दिएको बुढाथोकीले बताइन् ।
अहिले पनि उनको दुवै खुट्टा टेक्न मिल्दैन । दाहिने खुट्टा पुरै र देब्रे खुट्टामा आंशिक कमजोरी छ । घर भित्रबाहिर गर्न उनलाई बैसाखी उपयोगी छ । घर छाडेर अन्यत्र जान सक्दैनन् । उपचारपछि केही सहज भएर उनले काम गर्न थालेका हुन्। ढोरपाटन