म्याग्दीका यूवा बिनोद बानियाँ ‘विकास’द्धारा लिखित ‘प्रतिक्षालय’ गजल संग्रहको शनिबार लोकार्पण गरिएको छ । म्याग्दी पुस्तकालयको सभाहलमा आयोजित कार्यक्रममा माउण्ट एभरेष्ट अवासीय माविका प्रधानाध्यापक राजु केसी, लेखकका पुजनिय पिता खुमबहादुर बानियाँले संयुक्त रुपमा बिमोचन गर्नुभएको हो ।

लेखक बानियाँले आफ्नो गजल संग्रहमा ८० वटा गजलमार्फत सामाजिक परिवेश, प्रेम, बिछोड,बिदेशीनुको बाध्यता,स्वदेश र विदेश बिचको फरक, मानबीय सोच र संस्कार लगायत विभिन्न बिषयबस्तुको उठान गर्नुभएको छ ।

बेनी नगरपालिका वडा नं ८ शिक्षामार्ग निवासी चार्टर एकाउन्टेन्ट बानियाँले नेपाल, यूके र हाल क्यानडामा बस्दै आउनुभएको छ । बिमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले शिक्षामा अब्बल लेखक बानियाँ सामाजिक एवम् मानवीय सेवामा धनी रहेको बताउनुभयो ।

उहाँले लेखक बानियाँको रुचीलाई सहयोग गर्न ‘नफर्क ढुङ्गे यूगतिर’ कवितासंग्रह समेत विमोचन गरिएको बताउनुभयो । सोही अवसरमा लेखक बानियाँका पुजनिय पिता खुुमबहादुरले छोराको शैक्षिक र अतिरिक्त क्षमताको प्रशंसा गदैं अभिभावकको परिचयबाट चिनिनुभन्दा आफ्नै क्षमताबाट चिनिने सन्तान जन्माएको बताउनुभयो । गजल संग्रहको पौलस्य साहित्य प्रतिष्ठानका उपाध्यक्ष शिव सस्मितले चर्चा गर्नुभएको थियो ।

सोही अवसरमा विश्व नेपाली साहित्य महासंघ गण्डकीका अध्यक्ष प्रकाश अधिकारी, नन्दलालहरिकला स्मृति प्रतिष्ठानका अध्यक्ष गणनाथ पौडेल, पौलस्य साहित्य प्रतिष्ठानका सदस्य गंगा बानियाँ, बिमला नेपाल, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सहसचिव प्रताप बानियाँ लगायतको उपस्थिती रहेको थियो ।

म्याग्दी पुस्तकालयका साहित्य सचिव दिपक पौडेलको अध्यक्षता, स्वागत सदस्य हरिप्रसाद पौडेल र सञ्चालन कोषाध्यक्ष हरिकृष्ण गौतमले गर्नुभएको थियो । उक्त गजल संग्रह म्याग्दी पुस्तकालयमा उपलब्ध रहेको छ ।

Leave a Reply