महिलाहरुको आफ्नै नेतृत्व र व्यवस्थापनमा म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले सुगम श्रेष्ठको अध्यक्षतामा सहकारीको ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ ।
सञ्चालक समितिको उपाध्यक्षमा जगतकुमारी खत्री, सचिवमा अम्बिका श्रेष्ठ, सहसचिवमा रजनी कर्माचार्य श्रेष्ठ र कोषाध्यक्षमा कमला खत्री जिसी निर्वाचित हुनुभएको छ । यसैगरी कार्यसमिति सदस्यहरुमा अन्जना हमाल केसी, अनुशा श्रेष्ठ, पुष्पा थापा, अम्बिका ढुङ्गाना, रन्जिता भट्टचन, शर्मिला थापा क्षत्री, लेखा तथा सुपरिवेक्षण समिति संयोजकमा शारदा शर्मा सुवेदी, सदस्यमा सङ्गीता कार्की बरुवाल र लक्ष्मी भण्डारी कार्की निर्वाचित हुनुभएको छ ।
साधारणसभाको उद्घाटनसत्रमा यसअघि संस्थाका सचिव जगतकुमारी खत्रीले प्रगति, कोषाध्यक्ष अम्बिका श्रेष्ठले आर्थिक, लेखा तथा सुपरिवेक्षण समिति संयोजक शारदा शर्मा सुवेदीले लेखा, शिक्षा उपसमिति संयोजक अन्जना हमाल केसीले शिक्षा र ऋण उपसमिति संयोजक रञ्जिता भट्टचनले ऋण उपसमितिको प्रतिवेदन प्रस्ततु गर्नुभएको थियो । वि.सं. २०६८ सालमा स्थापना भएको सहकारीमा हाल ९ सय ४० जना शेयर सदस्यहरु आबद्ध छन्भने शेयर पुँजी तीन करोड ९२ लाख २१ हजार आठसय रुपैयाँ रहेको सहकारीले जनाएको छ ।
विभिन्न शीर्षकमा आठ करोड ८६ लाख ७२ हजार एकसय १८ रुपैयाँ कर्जा लगानी गरेको सहकारीमा सात करोड ५७ लाख ८५ हजार २१ रुपैयाँ बचत रहेको छ भने ६८ लाख तीनहजार आठसय ४२ रुपैयाँ जगेडा कोष र छ लाख ५५ हजार छ सय ८० रुपैयाँ अन्य कोषहरु रहेको सहकारीका प्रवन्धक समीक्षा ढुङ्गानाले जानकारी दिनुभयो । दिदीबहिनी सहकारीले सुरुवात गरेको मुठ्ठीदान कार्यक्रम सामाजिक क्षेत्रमा निकै लोकप्रिय मानिन्छ भने सो कार्यक्रममार्फत समय समयमा आपतविपद्मा परेका विभिन्न समुदायलाई सहयोग गर्ने गरिएको छ ।
साधारणसभाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका उपप्रमुख डिलकुमारी खत्रीले सहकारी संघसंस्थाहरु सहकारीको मूल्यमान्यताअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारी संस्थाहरुमार्फत ऋण लगानी गर्दा आवश्यक सबै प्रक्रिया पुरा गर्नुपर्ने र सहकारी क्षेत्रलाई आर्थिक उपार्जनको क्षेत्रसँग जोडेर ऋण प्रवाह गर्नुपर्ने बताउनुभयो ।
सोही कार्यक्रममा बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले सहकारी संघसंस्थाहरुले सदस्यकेन्द्रीत आर्थिक कारोबार गर्नुपर्ने र सदस्यहरुले पनि सहकारीमा पर्याप्त समय दिनुपर्ने बताउनुभयो । उहाँले सहकारीको मूल्यमान्यताअनुसार सञ्चालित सहकारी संस्थाहरुमा कुनै पनि समस्या नभएको बताउनुभयो ।
साधारणसभाको अवसरमा सहकारीले दम्पती सम्मानतर्फ दुर्गा गौतम शर्मा र गोविन्द शर्मा, साधारण बचतमा सङ्गीता श्रेष्ठ, लखपतिमा सारिका थापामगर, पेन्सनतर्फ जमुना आचार्य, बाल बचतमा सुशान्त आचार्य, सुनौलोमा निज्ञा श्रेष्ठ, आवधिकमा सुजाता श्रेष्ठ, पर्वमा श्वेता श्रेष्ठ, क्रमिकमा सङ्गीता श्रेष्ठ, दीर्घकालीनमा दिक्षा सुवेदी, सर्वाधिक हाजिरीतर्फ शकुन्तला श्रेष्ठ, उत्कृष्ट कारोबारकर्ता शर्मिला जोशी श्रेष्ठ, असल ऋणी सारिका थापामगर, उत्कृष्ट कर्मचारी भगवती शर्मा सुवेदी, उत्कृष्ट विद्यार्थी छात्रतर्फ प्रभातकिरण रिजाल र छात्रामा प्रकृति सुवेदीलाई सम्मान गरिएको छ ।
कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष एवं सामाजिक अभियन्ता जमुना आचार्यले वर्तमान सन्दर्भमा सहकारीको अवस्था, शेयर सदस्यहरुको भूमिका, संस्थाले सञ्चालनमा ल्याएका बचत र ऋणका प्रकार तथा विशेषताहरुको विषयमा सहजीकरण गर्नुभएको थियो । साधारणसभाको उद्घाटनसत्र सहकारीका निवर्तमान अध्यक्ष विष्णु गौतम सापकोटाको अध्यक्षता, उपाध्यक्ष सुगम श्रेष्ठको स्वागत र सचिव जगतकुमारी खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply