पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरवाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्ने योजनाले पाँच वर्षपछि बल्ल सडक कालोपत्रे गर्ने काम अगाडी बढेको छ ।

रणनीतिक महत्वका रूपमा रहेको उक्त खण्ड मंगला गाउँपालिका–२ रणवाङबाट मालिकाको केन्द्र दरवाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न विसं २०७६ जेठ ३१ गते निर्माण कम्पनी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच २२ करोड ५७ लाख ९३२ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।विसं २०७८ जेठमा सकिनुपर्ने योजनाको हालसम्म भौतिक प्रगति करिब ८० प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

पछिल्लो एक महिनायता निर्माण व्यवसायीले सडक फराकिलो पार्ने, नाली र पर्खाल बनाउने कामलाई पूर्णता दिएर सवबेस, बेस राख्ने, रोलर, ग्रेडरले सम्माउने कामलाई तीव्र बनाएका पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख इन्जिनियर बिष्णु पौडेलले बताउनुभयो । “अब म्याद थपबारे कुनै निर्णय भएको छैन, अहिले ठेकेदारले कामलाई गति दिएका छन्, यो अवस्था नरोकिए असारसम्म काम सकिन्छ” प्रमुख पौडेलले भन्नुभयो ।

सडक खण्डमा पर्ने बाङ्गे पहिरो क्षेत्र पहिरोग्रस्त भएकाले रणवाङ देखि ढाँडखर्क सम्म सडक फराकिलो बनाएर नाली पर्खाल निर्माण गर्ने काम सकिएको छ । मालिकाको केन्द्र दरवाङ बजारभित्र जग्गा विवाद नभएको बाहेकका ठाउँमा कालोपत्रेको तयारी गरिएको पूर्वाधार कार्यालय म्याग्दीले जनाएको छ ।

ठेकेदारले निर्माण सामग्रीको व्यवस्थापन, मजदुर र उपकरण परिचालन गर्न नसक्दा सडक निर्माणमा ढिलाइ भएको बताइएको छ। सो खण्डमा पर्ने बाङ्गेपहिरो क्षेत्र पहिरोग्रस्त र जोखिमयुक्त छ ।

पहिरो प्रभावित बाहेक रणवाङबाट ढाँडखर्कसम्म सडक फराकिलो बनाएर नाली र पर्खाल निर्माण सकिएको निर्माण कम्पनीका सञ्चालक चन्द्र थकालीले बताउनुभयो । नदीजन्य निर्माण सामग्रीको अभाव नभए आगामी असारसम्म काम सम्पन्न गरिने उहाँले बताउनुभयो । मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने २४ किमी दूरीको यो सडक विसं २०६३ मा मार्ग खुलेको थियो।

बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्ने मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प भएकाले यसलाई रणनीति महत्त्वका रूपमा मानिएको हो।बेनीबाट सिमसम्म १२.५ किमी तीन वर्षअघि कालोपत्र भएको थियो। सिम–पानाबगर खण्डको चार किमी गत जेठमा काम सकिएको छ।

Leave a Reply