बेनी नगरपालिका–४,तातोपानीमा रहेको प्राकृतिक औषधालयका रुपमा परिचित तातोपानी कुण्डले स्वास्थ्य चौकी जाने बाटो खरिद गर्न १७ लाख सहयोग गरेको छ । स्वास्थ्य चौकीसम्म सवारीसाधन जाने गरी मुहाड १६ र ३५ हात पिछाड भएको थप जग्गा खरिद गरिएको हो ।
बेनी-दरबाङ सडकबाट स्वास्थ्य चौकीसम्म पुग्ने पदैलमार्ग समेत सहज नभएको अवस्थामा यसपटक वडाकार्यालयको ३ लाख ५० हजारले सडक विस्तार गरिएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताउनुभयो ।
विगतमा पनि स्वास्थ्यचौकीकै लागि कुण्डले १६ लाख सहयोग गरेको थियो भने अहिले कुण्ड व्यवस्थापन समितिले विद्यालयको निजी स्रोतबाट ६ जना शिक्षकलाई तलबसुविधा उपलब्ध गराउँदै आएको छ । त्यस्तै प्रहरी चौकीको भवन निर्माणार्थ जग्गा खरिदमा चार लाख २५ हजार सहित स्थानीयस्तरमा आवश्यक पर्ने विभिन्न काममा समेत कुण्डले सहयोग गर्ने गरेको छ ।
स्वास्थ्यचौकीमा दैनिक तातोपानी बजार, स्नान गर्न आउने बिरामी र छिमेकी मंगला गाउँपालिकाको बरंजा तथा आसपासका क्षेत्रबाट आउने बिरामीले सेवा लिँदै आएकोमा बाटो नहुँदा सास्ती पाइरहेका थिए ।
यसको सबैभन्दा बढी मारमा बृद्धबृद्धा, अपाङ्ता भएका र गर्भवती पर्ने गरेको स्वास्थ्यकर्मीको भनाई छ। स्वास्थ्यचौकीमा मासिक २ सयको हाराहारीमा बिरामी आउने गरेको स्वास्थ्य चौकी इन्चार्ज हरिलाल अधिकारीले बताउनुभयो । ‘बिरामीलाई धेरै सहज हुन्छ, बृद्धबृद्धालाई आउनजान निकै गाह्यो थियो’ स्वास्थ्य चौकी इन्चार्ज अधिकारीले भन्नुभयो ।
प्राकृतिक तातोपानी कुण्ड स्वास्थ्य पर्यटनको गन्तव्य बन्दै गएपछि चेकजाँचका लागि आउने अधिकांस कुण्डका बिरामी हुने गरेका छन् । तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार दैनिक दुई सयदेखि तीन सयको हाराहारीमा बिरामी कुण्डमा नुहाउन आउने गरेकोमा विभिन्न रोगका बिरामीले औषधिका लागि समेत चौकीमा जाने गरेका छन् ।
म्याग्दी नदीको किनारमा अवस्थित तातोपानी कुण्डमा प्राकृतिकरूपमा नै जमिनभित्रबाट ५० डिग्री सेल्सियस तापक्रमको पानी निस्कने गर्दछ। बिरे नुनको गन्ध मिश्रित तातोपानी पिउँदै कुण्डमा बिहान तीन घण्टा र बेलुकी तीन घण्टा सातदेखि दश दिनसम्म नुहाएमा बाथरोग, ढाड दुख्ने, ग्यास्ट्रिक, चर्मलगायत रोग निको हुने विश्वास रहेको छ। नेपालबाट मात्रै होइन, भारत र तेस्रो मुलुकबाट पनि स्नान गर्न आउने बिरामीको सङ्ख्या बढ्दो छ।