हस्तिनापुर राज्यका महाराज धृतराष्ट्रका भाइ विदुर आफ्नो गहिरो ज्ञान, अटल धर्मनिष्ठता र अद्वितीय विवेकका लागि परिचित थिए । उनी न्याय र सन्तुलनको प्रतिमूर्ति मानिन्थे ।
एकदिन महाराज धृतराष्ट्रले विदुरलाई सोधे, “हे विदुर, जीवनमा सच्चा सुख र सफलता प्राप्त गर्न मानिसले के गर्नु आवश्यक छ ?”
विदुरले आफ्नो सहज स्वरमा उत्तर दिए, “महाराज, जीवनको सागरमा तैरिन, न त लोभको भारले डुब्नुपर्छ, न असन्तोषको ज्वालाले आफैँलाई जलाउन । सन्तुलनको डुङ्गा नै सुख र सफलताको तीरसम्म पुग्ने एकमात्र साधन हो ।”
विदुरका यी सरल जवाफ्mले सांसारिक जीवनको व्यस्तता र आध्यात्मिक जीवनको शान्ति बीचको सन्तुलनलाई अत्यन्त सुन्दर रूपमा उजागर गरेका छन् । उनका शब्दहरू केवल तत्कालीन समयका लागि मात्र होइन, आजको आधुनिक जीवनशैलीका लागि पनि उत्तिकै सान्दर्भिक र मार्गदर्शक छन् । जीवनमा जिम्मेवारी र आत्मज्ञानको बीचमा सन्तुलन खोज्नु नै सच्चा सुख र सफलताको आधार हो भन्ने उनको शिक्षा सार्वकालिक सत्यका रूपमा स्थापित छ ।

जीवन भनेको न त केवल सफलता हो, न केवल असफलता । यो न केवल हाँसो हो, न केवल आँसु । यो न केवल दुख हो, न केवल सुख हो । जीवन भनेको दुई विपरीत ध्रुवहरू बीचको एउटा यात्रा हो । हाम्रो अस्तित्वको सार सन्तुलनमा छ । यो संसारको रहस्य पनि यही हो, दुवै ध्रुवको यथार्थ स्वीकार गरेर बीचको मार्गमा स्थिर रहनु । यसरी जब हामी सन्तुलनलाई आत्मसात गर्छौं, जीवनलाई नयाँ ढङ्गले बुझ्न थाल्छौँ ।

यो सृष्टि, ब्रह्माण्ड, अनि हाम्रो जीवन, सबै सन्तुलनको खेलमा आधारित छ । जब हामी ब्राह्मणदेखि अणु परमाणुसम्मको संरचनालाई हेर्छौं, हामी देख्छौँ कि सबै कुरा एउटा सूक्ष्म सन्तुलनमा अडिएको छ । जीवन भनेको यस सन्तुलनको अनुभूति र यसलाई कायम राख्ने कला हो । जब सन्तुलन बिग्रन थाल्छ, सारा अस्तित्व पनि अनिश्चिततामा जान थाल्छ । वास्तवमा सन्तुलन भनेको केवल एक वैज्ञानिक सत्य मात्र होइन, यो जीवनको दर्शन हो ।
सन्तुलन भनेको कुनै बाह्य अनुशासन मात्र होइन, यो हाम्रो भित्री चेतनाको एउटा स्वरूप हो । संसारभरका विचारकहरूले भन्छन्– जीवन एक चक्र हो । हामी जन्मन्छौँ, मृत्यु हुन्छ, पुनः जन्मन्छौँ । यो चक्रको अवधारणा मात्र होइन, यसभित्र पनि सन्तुलनको गहिरो अर्थ छ । जसरी प्रकृतिमा दिन र रातको चक्र अविचलित हुन्छ, जीवनमा पनि खुशी र दुःख, सफलता र असफलता, प्रकाश र अन्धकारको सन्तुलन हुन्छ । यस सन्तुलनलाई स्वीकार्न सक्ने मानिस मात्र वास्तविक शान्तिमा प्रवेश गर्छ ।

ओशोले भनेका छन्, “जीवन केवल ध्रुवीय विपरीतताहरूको नाटक होइन, यो दुई ध्रुवहरूको मेल हो ।“ सन्तुलन भनेको विपरीतताहरूको बीचमा अवस्थित रहने एउटा अवस्था हो । हामी एकातिर सुखका लागि दौडिन्छौँ, अर्कोतिर दुःखबाट भाग्छौँ, तर सुख र दुःख दुवै एकै सिक्काको दुई पाटा हुन् । यदि तपाईँ केवल सुख खोज्नुहुन्छ भने, तपाईँले दुःख पनि खोज्नुभएको हुन्छ । किनकि दुःखको उपस्थितिले मात्र सुखको अनुभूति सम्भव छ । यसैगरी यदि तपाईँले पूर्ण जीवन चाहनुहुन्छ भने, तपाईँले दुवैलाई सन्तुलित ढङ्गले स्वीकार गर्नुपर्छ ।

आधुनिक समाजमा मानिसहरू सन्तुलन गुमाइरहेका छन् । धेरैजसो मानिसहरू बाहिरी जीवनमा यति व्यस्त हुन्छन् कि उनीहरूले भित्री जीवनलाई बेवास्ता गर्छन् । उनीहरू सफलता, प्रतिष्ठा, सम्पत्ति जस्ता कुराको पछाडि यति दौडिन्छन् कि भित्रको शान्ति गुमाउँछन् । अनि एकदिन उनीहरू थाक्छन्, जीवनमा खालीपन महसुस गर्छन् । तर जबसम्म हामीले जीवनको गहिरो सन्तुलनलाई महसुस गर्दैनौं, तबसम्म यो खालीपन कहिल्यै पूरा हुँदैन । जीवन केवल बाहिरी उपलब्धिहरूको खेल होइन, यो भित्री सन्तुलनको कला हो ।

सन्तुलनको महत्त्व बुझ्नका लागि प्रकृतिभन्दा ठूलो गुरु अरू छैन । प्रकृतिमा सधैँ सन्तुलन छ, सन्तुलन भनेको प्रकृतिको धर्म हो, जसले संसारलाई धारण गरेको छ । यसरी नै हामीले पनि हाम्रो जीवनमा यो सन्तुलनलाई आत्मसात गर्नुपर्छ । यसको अर्थ के हो भने– सम्पत्ति कमाउनुहोस्, तर त्यसमा आसक्ति नराख्नुहोस्; प्रेम गर्नुहोस् तर त्यसमा निर्भर नहुनुहोस्; हाँस्नुहोस् तर आँसुको मूल्य नबिर्सिनुहोस् ।

ओशोको भनाइ अनुसार सन्तुलन भनेको ध्यानको स्थिति हो । जब हामी ध्यानमा प्रवेश गर्छौं, हामी बिस्तारै आफैँमा केन्द्रित हुन थाल्छौँ । ध्यान भनेको कुनै विशेष क्रिया मात्र होइन, यो हाम्रो सम्पूर्ण जीवनलाई सन्तुलित बनाउने विधि हो । जब हामी ध्यानमा स्थिर हुन्छौँ, तब जीवनमा हुने सबै घटनाहरूलाई साक्षी भावले हेर्न थाल्छौँ । यस साक्षी भावले हामीलाई सबै परिस्थितिहरूमा सन्तुलित बनाउँछ ।

राजा जनकको जीवन सन्तुलनको एक गहन उदाहरण हो । उनी एक राजा थिए, जसले संसारको सबै भौतिक सम्पत्ति र ऐश्वर्यमा रहँदै गर्दा पनि आन्तरिक रूपमा उनले पूर्ण वैराग्य आत्मसात गरेका थिए । यद्यपि उनी आफ्नो कर्तव्यबाट कहिल्यै विमुख भएनन्, तर उनको भित्री अवस्था सधैँ ध्यानमय र तटस्थ रह्यो । यो दृष्टान्तले जीवनमा सन्तुलनको अर्थलाई उजागर गर्छ– बाहिरबाट कर्तव्यमा पूर्ण रूपमा लाग्नु तर भित्रबाट निर्लिप्त रहनु । जनक जस्तै हामीले पनि जीवनको जिम्मेवारी पूरा गर्दा आन्तरिक शान्ति र सन्तुलन कायम राख्न सिक्नुपर्छ ।

जीवनमा सन्तुलन भनेको केवल बाहिरी उपलब्धि वा सामाजिक सम्मान होइन । यो भित्री आत्मसन्तोष हो, जसले कुनै पनि परिस्थितिमा हामीलाई अडिग राख्छ । सन्तुलनको खोजी भनेको जीवनलाई सम्पूर्णता र पूर्णतामा बाँच्ने यात्रा हो । ओशोले बारम्बार यसै कुरा सम्झाउँछन्– तिमी जहाँ छौ, त्यसलाई पूरा रूपमा जिउ, तर कुनै पनि कुराको बन्धनमा नपर्नु । यसैलाई हामी सन्तुलनको वास्तविक समझ भन्छौँ ।

जीवनमा सन्तुलनको महत्त्व बुझ्नका लागि हामीले हाम्रो भित्री चेतनामा गहिरोरुपमा डुब्नुपर्छ । बाह्य संसारलाई केवल साधनको रूपमा प्रयोग गर्नुहोस्, तर त्यसमै आफूलाई हराउनु भने हुँदैन । सन्तुलन भनेको आत्मअनुशासन र आत्मज्ञानको प्रतीक हो । जब तपाईँले जीवनमा सन्तुलन पाउनुहुन्छ, त्यहाँ न त कुनै द्वन्द्व रहन्छ, न त कुनै तनाव । जीवन स्वतः एक शान्त सङ्गीतजस्तै बज्न थाल्छ ।

– सञ्जय जुग्जाली, मालिका– ७, बिम, म्याग्दी

 

Leave a Reply