भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–४,मुदीको चेचुङ गाउँमा सडक पुगेको छ । हाइड्रो इम्पायर प्रालि प्रबद्र्धक रहेको ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाको सहयोगमा नाउरा हुदै चेचुङ गाउँमा सडक पुगेपछि स्थानीयबासी उत्साहित भएका छन् ।
जलविद्युत आयोजनाको सामाजिक उत्तरदाहित्व अन्तरगत तीन किलोमिटर लामो सडकको ट्याक खुलेसँगै चेचुङ गाउँमा सडक पुगेको स्थानीय यूवा नविन घर्ती मगरले बताउनुभयो । ‘ट्याक खुलेको छ,अव सहज सवारीसाधन आवतजावत हुने गरी बाटो विस्तार हुन्छ’ स्थानीय जनशक्ती यूवा क्लवका सल्लाहकार समेत रहनुभएका घर्तीले भन्नुभयो ।
सडक सञ्जाल गाउँमा पुगेपछि ३० भन्दा बढी घरधुरी लाभान्वित भएका छन्। चेचुङ गाउँमा सडक पुगेपछि स्थानीय बासिन्दालाई दैनिक उपभोग्य वस्तुको ढुवानी गर्न, वडा कार्यालय, गाउँपालिका केन्द्र र सदरमुकाम बेनीबजार पुग्न सहज भएको छ ।
म्याग्दी जिल्लाका अति विकट बस्तीहरूमा मुदीको चेचुङ गाउँ समेत पर्छ ।माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाका प्रबन्ध निर्देशक जितबहादुर घर्तीले जलविद्युतले समुदायस्तरका समस्याहरु समेत समाधान गर्ने बताउनुभयो।
उहाँले सडक सञ्जाल सहित अन्य समस्याहरुमा समेत समुदायसँग मिलेर काम गरेको बताउँदै जलविद्युतको निर्माणस्थल पहुंचमार्गले जोडिएपछि धमाधम काम भइरहेको छ । आयोजनाको बाँध, विद्युतगृह र सुरुङको अडिटको काम भइरहेको छ ।
मुदीको सिम्कोस र म्याग्दी खोलाको दोभानभन्दा एक सय ३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा बाँध, म्याग्दी खोलाको बायाँ किनारमा भूमिगत बालुवा थिग्याउने पोखरी, हेडरेस सुरुङ बन्ने आयोजनाको विद्युतगृह म्याग्दी खोला र मुदी खोलाभन्दा एककिलोमिटर माथि प्रस्ताव गरिएको छ ।
तीन किलोमिटर पाँच सय ५३ दशमलव ३३ मिटर लामो सुरुङबाट ल्याइने पानी तीन सय दशमलव ८८ मिटर अग्लो हेडबाट विद्युतगृहमा खसालेर विद्युत् उत्पादन गरिने भएको छ। धवलागिरी गाउँपालिकाले सडक सञ्जाल नपुगेका गुर्जा सहितका बस्तीमा बजेट विनियोजन तथा जलविद्युत निर्माणधिन अवस्थामा रहेका बस्तीहरुमा समेत सडक विस्तारमा समन्वय गरिरहेको छ ।